Breaking News
विदेशमा रहेका नेपालीहरुलाई ल्याउनुपर्छ भन्न मात्र सजिलो तर तयारी गर्न गाह्रो : प्रधानमन्त्री

काठमाडौं, जेठ ६-
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरुको उद्दार भने जस्तो सजिलो नभएको बताएका छन् ।
आफू र परराष्ट्रमन्त्रीले कतार, यूएई, कुवेत, इजरायल, ओमन, बहराइन लगायतका सरकार प्रमुख लगायतसँग कुराकानी गरेको र नेपाली नागरिकलाई आफ्नो नागरिक सरह व्यवहार गर्ने वचन दिएको उनले बताए ।
संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कतारले १०० जना लैजानु र हामीले कतारबाट पौने ४ लाख ल्याउनु एउटै होइन ।’
विदेशमा रहेका नेपालीहरुलाई ल्याउनुपर्छ भन्न मात्र सजिलो तर तयारी गर्न गाह्रो भएको उनले सुनाए । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘ह्वारह्वारी ल्याउने, कोरोना मात्र फैलाउने र देश नै सोत्तर बनाउने पक्षमा छैनौं ।’
साथै समस्यामा परेका नेपाली नागरिकहरुलाई कसरी ल्याउने भन्ने हिसावकिताब भइरहेको बताए ।
























