Breaking News

सफल भयो कोरोनाविरुद्धको परीक्षण खोप, पहिलो चरणमा सकारात्मक नतिजा

Banner

काठमाडौं, जेठ ६-

कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानवीय परीक्षणको पहिलो चरणमा सकारात्मक प्रतिक्रिया देखिएको छ । अमेरिकामा कोरोना भाइरसविरुद्ध मानिसमा गरिएको पहिलो चरणको परीक्षण खोप सफल भएको छ ।

नेसनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको यो खोपले अपेक्षा गरिएभन्दा बढी काम गरेको वैज्ञानिकले बताएका छन् ।

एमआरएनए-१२७३ नामक खोपले शरीरमा असर पनि कम गरेको पाइएको मोडेर्नाले सोमबार साँझ जानकारी दिएको हो ।

उसका अनुसार खोप लगाइएका मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ।

पहिलो चरणमा ८ स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सार्वजनिक गर्दै मोडर्नाले भनेको छ, ‘८ स्वस्थ स्वयंसेवीमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनाका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ।’

मोडर्नाका अनुसार गत मार्चमा परीक्षण सुरु गरिएकाे याे खाेप ती ८ मानिसमा दुईपटक लगाइएको थियाे र त्यसले रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको पाइयाे । त्याे एन्टिबडी प्रयोगशालामा परीक्षण गर्दा त्यसले शरीरभित्र कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने देखिएको कम्पनीले जनाएकाे छ ।
पहिलो चरणको परीक्षण खोपको प्रभावकारिता परीक्षण गर्न भन्दा पनि सो खोप प्रयोग गर्नु स्वास्थ्यका हिसाबले सुरक्षित हुन्छ या हुँदैन भन्ने थाहा पाउनुमा केन्द्रित छ ।

मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टिफन बैसेलले तत्काल अब योभन्दा उत्तम नतिजाको आशा गर्न नसकिने दाबी गरेका छन् ।

यो खोप थप परीक्षणपछि मात्र बजारमा आउन सक्ने कम्पनीका प्रमुख मेडिकल अफिसर डा. ताल ज्याक्सले बताएका छन् । आगामी परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने उनले जानकरी दिएका छन् ।

तर पहिलो चरणकै परीक्षणमा यसले कोभिड–१९ को उपचारमा सकारात्मक नतिजा देखाएकाले थप परीक्षणका लागि उत्साहित बनाएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>