Breaking News
कर्णालीसंगै सातै प्रदेशमा कोरोना संक्रमण, एउटै बसमा ४८ जनासंग आएका थिए संक्रमित पुरुष

काठमाडौं, जेठ ५–
एक मात्र कोरोना संक्रमणमुक्त रहेको कर्णाली प्रदेश पनि अब कोरोना संक्रमित प्रदेशमा प्रवेश गरेको छ । कर्णालीमा पहिलोपटक सोमबार राती एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको । दैलेखको आठविसकोट नगरपालिका–१, साततलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हो।
कर्णालीमा फेला परेका यी पहिलो कोरोना संक्रमित व्यक्ति जेठ १ गते भारतबाट आएका थिए। रोजगारीका लागि गएका उनी भारतको आग्राबाट आएको आठविस नगरपालिकाका मेयर खड्कराज उपाध्यायले जानकारी दिए। उनी आठविस नगरपालिका–१ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसिरहेका छन्।
उनीसँग ३९ जना उक्त क्वारेन्टाइनमा रहेको मेयर उपाध्यायले जानकारी दिए। मेयर उपाध्यायका अनुसार उनीसँग एकै बसमा ४८ जना भारतबाट आएका थिए । तीमध्ये ८ जना दैलेखको ठाँटीकाँध गाउँपालिका र १ जना चामुण्डा विन्द्रासैनी नगरपालिकाका हुन्। ठाँटीकाँधका ८ जनालाई सम्बन्धित गाउँपालिकाले क्वारेन्टाइनमा राखेको भए पनि सोमबार छाडिसकिएको छ।
सोमबार बिहान सुर्खेतमा रहेको जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा पहिलोपटक कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि नेपालगन्ज पठाइएको थियो।
सोमबार बेलुका नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ नै देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले जानकारी दिए।
























