Breaking News

लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषदमा लैजाने तयारी

Banner

काठमाडौं, जेठ ४

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा सहितको समेटेर भूभाग सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको छ ।

सरकारले अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालय स्रोतका अनुसार नापी विभागले तयार पारेको नक्सा आज (आइतबार) मन्त्रिपरिषदमा पेश गरिँदैछ । नक्सा तयार भइसकेको र आज भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदमा पेश गर्ने मन्त्रालयका एक अधिकारीले बताए ।

सरकारको नीति तथा कार्यक्रममासमेत नयाँ नक्सा सार्वजनिक गरिने प्रतिवद्धता उल्लेख गरिएको छ । सोही प्रतिवद्धताका आधारमा मन्त्रालयले नक्सा बनाउन तयारी थालेको हो ।

गत मंसिर महिनामा भारतले लिपुलेकलगायतका क्षेत्रसहित आफ्नो नक्सामा सामेल गरेर सार्वजनिक गरेपछि नेपालमा पनि आफ्नो भूमिसहितको नयाँ नक्सा साजर्वजनिक गर्न जनस्तरबाट सरकारलाई दबाब दिइएको थियो । यद्यपी सरकारले कूटनीतिक माध्यमबाट समस्याकाे समाधान गर्ने बताउँदै आएकाे थियाे तर नेपालले गरेकाे वार्ता प्रस्तावलाई भारतले वेवास्ता गर्दै आएकाे छ ।

हालै भारतले लिपुलेकमा सडक निर्माण गरेपछि सरकारलाई सो क्षेत्रसमेत समेटेर नक्सा जारी गर्न चौतर्फि दबाब परेको छ। सोही सन्दर्भमा सरकारले नीति तथा कार्यक्रममार्फत नक्सा सार्वजनिक गर्न प्रतिवद्धता जनाएको हो ।

नापी विभागले तयार पारेको नक्सालाई मन्त्री अर्यालले मन्त्रिपरिषद बैठकमा लगेर छलफल गरेपछिमात्र त्यो पारित हुनेछ । नक्सा सार्वजनिक गर्नुअघि सरकारले त्यसका प्राविधिक,कुटनीतिक र अन्य सबै पक्षलाई विचार गरेर परिपक्व निर्णय गर्नुपर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

नेपालको हाल प्रचलनमा रहेको नक्सा र नेपालको संविधानको अनुसूचीमा उल्लेखित राष्ट्रिय नक्सामा समेत लिम्पियाधुरा छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>