Breaking News
नेपालमा पहिलोपटक कोरोनाबाट एक जनाको मृत्यु, सुत्केरी महिलाको कोरोनाबाटै मृत्यु भएको पुष्टि

काठमाडौं, जेठ ३–
नेपालमा पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको कोरोना भाइरसबाट नै मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमारी अधिकारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘यस सम्बन्धमा थप विस्तृत विवरण लिइएको र कोभिड–१९ संग सम्बन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ ।’ बाह्रविसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल, महराजगञ्जमा भर्ना भएकी थिइन् । उनको २४ गते डेलिभरी भएको र २५ गते डिस्चार्ज भएकी थिइन् । त्यसपछि उनी सिन्धुपाल्चोक घर गएकी थिइन् ।
उनलाई ज्वरो, स्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पताल उपचार गराईएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि धुलिखेल अस्पताल पु¥याईएको थियो । तर अस्पतालमा उपचार नपाउँदै उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ । उनको सोही अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
सो क्रममा उनमा कोरोना पोजिटिभ देखिएको थियो । तत्कालै थप परीक्षणका लागि उनको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको थियो । त्यहाँ पनि पोजिटिभ देखिएपछि चिकित्सकहरुको टोली धुलिखेल पुगेको थियो । सबै अनुसन्धान पश्चात महिलाको कोरोनाबाट नै मृत्यु भएको पुष्टि गरेको हो ।
ती महिलाको दाहसंस्कार पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा गरिने भएको छ । सुरक्षा निकायको रोहबरमा महिलाको दाहसंस्कार गर्न लागिएको छ ।

























