Breaking News
चितवन गड्यौलीका कोरोना संक्रमित भनिएकी महिला काठमाडौंमा

चितवन, जेठ ३–
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आज (शनिबार) निकालेको विज्ञप्तीमा चितवन गड्यौली निवासी २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । तर ती महिला चितवनमा नरहेको पुष्टि भएको छ । ती महिला हाल काठमाडौंमै रहेकी छिन् । उनले काठमाडौंमै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गराएका थिए ।
ती संक्रमित महिला कहिले काठमाडौं गएकी हुन् भन्ने बारे खुलेको छैन । यस बारे कन्ट्याक्ट ट्रेसिङ हुनेछ । भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले चितवनमा शुक्रबार परीक्षण गरिएकोमा कसैकोमा पनि कोरोना संक्रमण नदेखिएको बताए । उनले संक्रमित भनिएकी महिलाको परीक्षण काठमाडौंमै गरिएकाले सोही ठाउँमा बसोबास गरेको हुन सक्ने बताए ।
यस्तै संक्रमण देखिएको भनिएको राप्ती नगरपालिकाका मेयर प्रभा बरालले राप्तीमा बसोबास गर्ने अन्य कसैमा पनि कोरोना संक्रमण नभएको बताइन् । उनले भनिन्–‘हामीले पनि भर्खर जानकारी पायौं गड्यौलीको महिलामा संक्रमण भन्ने बारे, तर ती महिला यहाँ नभएको बुझिएको छ, थप यसबारे बुझि रहेका छौं ।’ उनले पनि काठमाडौंमै परीक्षण गरिएकाले सोही ठाउँमा बसोबास गरेको हुनुपर्ने बताइन् । ‘संक्रमित महिलाले स्थायी ठेगाना दिएको हुन सक्छ, अरु पत्ता लगाउँदै छौं’–मेयर बरालले भनिन् ।
संक्रमित महिला कहिलेदेखि काठमाडौंमा बसोबास गर्दै आइरहेकी थिइन भन्ने बारे खोजी भइरहेको छ ।
























