चितवन विशेष
महानगरको काममा अवरोध नगर्न नेकपाबाट जितेका वडाध्यक्षहरुको आग्रह

चितवन, वैशाख ३१–
भरतपुर महानगरका नेकपा सम्वद्द वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले महानगरका सबै काम र आइपर्ने समस्याको समाधान सहमति र सहकार्यबाट गर्न आग्रह गरेका छन्।
उपमेयरसहित र कांगेसबाट निर्वाचित वडाअध्यक्षहरुले कोरोना अस्पतालको विषयलाई लिएर आन्दोलन गरेपछि नेकपा निकटका वडाध्यक्षहरुले सबै विषयको समाधान आन्दोलनबाट नभइ सहमति र सहकार्यबाट गर्न माग गरेका हुन् । महानगरका प्रवक्ता एवंम भरतपुर महानगरपालिका वडा नं.१० का वडाध्यक्ष अरुणपीडित भण्डारीसहित नेकपाबाट जितेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले प्रेस विज्ञप्ती जारी गर्दै त्यस्तो माग गरेका हुन् । उनीहरु भरतपुर कोरोना अस्पतालको चोरी प्रकरण बारे अनुसन्धान भइरहेको बेला वडाध्यक्षहरु आन्दोलनमा उत्रिएको प्रति ध्यानाकर्षण समेत भएको जनाएका छन् ।
साथै वडाध्यक्षहरुले जिल्ला प्रशासन कार्यालय र अख्तियारले समेत अनुसन्धान गरिरहेकाले घटनाको छानबिन गरी सत्य, तथ्य बाहिर ल्याउन समेत गरेका छन् ।
विज्ञप्तीमा न्यायिक निरूपणको प्रक्रियामा रहेको घटनालाई अतिरन्जित नगरी महानगरपालिकाको समग्र विकास र वार्षिक कार्यक्रमलाई सहजता प्रदान गर्नुका साथै महानगरपालिकाका सम्पूर्ण गतिविधिमा अवरोध नगरी आइपरेका समस्याहरू कार्यपालिकाकै बैठकमा दफावार छलफल गरी निचोडमा पुग्न आह्वान समेत गरिएको छ।
























