चितवन विशेष
क्यान्सर अस्पतालमा आएका बिरामी कुरुवालाई निःशुल्क खाना

चितवन, वैशाख २९–
कोरोना भाईरस नियन्त्रण गर्ने उदेश्यले सरकारले घोषणा गरेको लकडाउनका कारण विहान बेलुका छाक टार्न समस्या भएका मानिसहरुको आवश्यकतालाई मध्यनजर गर्दै भरतपुर–७ कृष्णपुरमा निःशुल्क खाना खुवाईएको छ । होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघ चितवनले विश्वभर फैलिएको कोरोना संक्रमणको विषम परिस्थितिमा वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल अगाडी निःशुल्क खाना वितरण गरेको हो ।
बिपत्तिमा परेकालाई मानिसलाई सहयोग गर्ने उदेश्यले क्यान्सर अस्पतालमा उपचारमा आउने बिरामी र बिरामीका कुरुवालाई निःशुल्क खाना खुवाएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष दिपक ढकालले जानकारी दिए ।
धेरै टाढाबाट क्यान्सर अस्पतालमा उपचारको लागि आएर बेखर्ची भएका मानिसहरुको समस्या देखेर विहान बेलुका खाना खुवाउने कार्यक्रम राखिएको जानकारी दिँदै उनले हाल विहान र बेलुका गरि दैनिक करिब ६ सय जनालाई खाना खुवाईएको बताए ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवन कृष्णपुर इकाइको समन्वयमा भएको उक्त कार्यममा भोजन बितरण कमिटीका संयोजक गंगा पराजुली, इकाई संयोजक कमलराज पाठक, बासु गौतमलगायत इकाईका पदाधिकारी तथा सदस्यहरुको अनवरत खटाईको कारण यो काम गर्न सफल भएको ढकालको भनाई थियो ।
अध्यक्ष ढकालले खाना वितरण कार्यक्रममा सहयोग गर्नु हुने चितवन फुटबल संघका अध्यक्ष कृष्ण कार्की लगायत सम्पूर्ण सहयोगी दाताहरु प्रती आभार प्रकट गरे ।
























