Breaking News
नेता नेपालले भने : तत्काल नेपालको नक्सा प्रकाशन गरी सीमामा काँडेतार लगाऔं

काठमाडौं, बैशाख २९-
पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भारतले नेपाली भूमिमा सडक बनाएको कुरा गम्भीर विषय भएकाले कोरोना महामारी देखाएर सरकार पन्छिन नमिल्ने बताएका छन् ।
सोमबार बिहान सिंहरदरबारमा जारी प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा समिति सदस्य नेपालले देशको भूमि मिचिएको जस्तो राष्ट्रको सार्वभौम सत्ताजस्तो गम्भीर विषयमा कोरोना महामारी देखाएर सरकार चुप लागेर बस्न नहुने सुझाव दिएका हुन्।
सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले भने, ‘सरकारलाई विवादित बनाउने काम नगर्नुस्, तत्काल माफी मागिहाल्नुस् । शिक्षा मन्त्रालयले पनि आफ्ना सम्पूर्ण पाठ्यक्रममा नेपालको सम्पूर्ण भूभाग भएको नक्सा प्रकाशन गर्नु पर्यो ।’
‘जमिन अतिक्रमण भएको जस्तो गम्भीर विषयमा कोरोना महामारी देखाएर सरकारले भारतसँग वार्ता नगरी बस्न मिल्दैन,’ बैठकमा नेता नेपालले भने, ‘यसमा सरकार सक्रिय भइहाल्न जरुरी छ।’
उनले तत्काल सम्पूर्ण भूभाग समेटिएको नेपालको नक्सा प्रकाशन गर्न आग्रह पनि गरे । नेता नेपालले आवश्यक परे सिमानामा काडेतार लगाउन समेत जोड दिएका छन् ।
‘भारतसँग सधैंभरी विवाद गर्नुभन्दा अब सिमानामा काँडेतार लगाउनेबारे पनि अघि बढौं । पार्टीको विदेश विभागले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । उच्च तहमा यसबारे छलफल गर्नुपर्यो । आफ्नो सम्पूर्ण भूमि समेटेर नक्सा प्रकाशन गर्न ढिला गर्नु भएन । सिमानामा नियमित अनुगमन गर्नुपर्यो । सुरक्षाकर्मीलाई के के सामग्री चाहिन्छ त्यो पनि ब्यवस्था गर्नुपर्यो’, नेता नेपालले भने ।
नेता नेपालले नेपालको सीमा अतिक्रमणबारे उच्च मनोबलका साथ भारत र चीन सरकारसँग कुरा गर्नुपर्नेमा जोड दिँदै कोरोनका त्रासका बीच भएको सीमा अतिक्रमणले नेपालीको मनमा थप चोट पुगेको बताए ।
भारतले पिलर सार्ने, सीमा मिच्ने, सुरक्षाकर्मीको क्याम्प राख्ने जस्ता काम गरेकोले अब काडेतार लगाउनेबारे अघि बढ्नुपर्ने उनको जोड छ ।























