Breaking News
युएईमा एकैदिन २२ नेपाली महिला कामदारमा भेटियो कोरोना संक्रमण

काठमाडौँ, वैशाख २७-
युएईको शारहजामा एकै दिन २२ जना नेपाली महिला कामदारहरुमा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण भेटिएको छ ।
शारहजाको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोभिड-१९ पोजिटिभ देखिएको थियो । पोजिटिभ हुनेमा २२ जना नेपाली महिला कामदारहरु रहेको एनआरएनए युएईको क्युआरएफ टिमले बताएका छन् ।
गैर आवासीय नेपाली संघ(एनआरएनए) युएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार हाल सम्म युएईका सबै राज्यमा गरी एकसय ४९ जना नेपाली कोरोना संक्रमित भएका छन् । जसमा २७ जना उपचारपछि निको भएका छन् भने ६ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्।
संक्रमित हुनेहरुलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलग राखेको छ। उक्त कम्पनीमा सयको हाराहारीमा नेपाली महिला कामदारहरु कार्यरत छन् ।
दुबईमा मात्र अहिलेसम्म ४४ जना नेपाली संक्रमित भएका छन् । जसमध्ये १२ जना उपचार पछि निको भएको, ५ जनाले कम्पनी क्वारेन्टाइनमा, २ जनाले आफ्नै निवासको सेल्फ क्वारेन्टाइनमा र २५ जनाले दुबई सरकारको क्वारेन्टाइनमा स्वास्थलाभ गरिरहेका छन् ।






















