Breaking News
सरकारविरुद्ध खनिए सभापति देउवा, भने–‘सरकारले शासन गर्ने नैतिक आधार गुमाइसकेको छ’

काठमाडौं, बैशाख २६-
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको बताएका छन् ।
संघीय संसदको प्रतिनिधिसभा बैठकलाई शुक्रबार सम्बोधन गर्दै देउवाले सिंगो देश कोरोनाबाट आतंकित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावना विपरित दुइवटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैह्र जिम्मेवार चरित्र प्रस्तुत गरेको आरोप लगाएका छन् ।
सबैपक्ष कोरोना विरुद्धको लडाईमा एक भएर लागेको बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत भएको दावी गरेका छन् ।
उनले एक सांसदको अपहरण प्रकरणमा नै न कुनै रुपले सरकारको संलग्नता देखिएके पनि देउवाले आरोप लगाए । उनले यो घटनाको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कडा कार्वाही गर्न माग समेत गरे ।
‘एकातर्फ कोरोनासंग लड्ने हाम्रो साझा दायित्व छ भने अर्कातर्फ वर्तमान सरकारले नियोजित नियतबाट लोकतन्त्र र संविधानका विरुद्ध गरिरहेको घातबाट वर्तमान संविधान र लोकतान्त्रिक ब्यवस्थाको रक्षा गर्नुपर्ने परिस्थिति पनि छ । म सरकार बाहिर रहेका राजनीतिक दल, संचार माध्यम, बुद्धिजीवी र समस्त नेपालीलाई यसबारे सजग र एकताबद्ध हुन अनुरोध गर्दछु’, देउलाले भने ।
‘नेपालमा कोरोनाको पहिलो संक्रमित देखिएको महिनौं बित्दा पनि आजसम्म व्यापक परीक्षण भइसक्नुपर्नेमा अत्यन्त न्यून संख्यामा परीक्षण भइरहेको छ, परीक्षण सामग्रीको विश्वसनीयतामा प्रश्न उठेको छ,’ देउवाले भने,‘विदेशमा विचल्लीमा परेका नागरिकको उद्धारको कुनै योजना छैन। कोरोनाका कारण विभिन्न क्षेत्रमा उत्पन्न हुने नकारात्मक असरको अध्ययन गरी तत्कालीन र दीर्घकालीन रणनीति बनाउन सकेको छैन। यस्तो अत्यन्त विषम अवस्थामा भ्रष्टाचार सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मूल्य मान्यता र भावनाका विपरित कुरामा व्यस्त हुनु, सांसदको अपहरण हुनुजस्ता अपराधिक गतिविधि कुनै हालतमा स्वीकार्य हुन सक्दैनन्।’
‘सरकारले नागरिकलाई देशमा सरकारको अस्तित्व रहेको अनुभूति गराउन सकेको छैन । महामारी विरुद्ध लड्न पूर्व तयारी, लक डाउनका बेलामा राहत, क्वारेनटाईन, अस्पताल आदीको उचित व्यवस्थापन, स्वास्थ तथा सुरक्षाकर्मी लगायत अग्रपंक्तिमा काम गरिरहेका व्यक्तिहरुको व्यक्तिगत सुरक्षा सामग्री, परिक्षण सामग्रीको आपुर्तिका कामहरु उचित तवरले भएका छैनन्’, देउवाले भने, ‘ नेपालमा कोरोनाको पहिलो संक्रमण देखिएको ३ महिना बितिसक्दा पनि हालसम्म व्यापक परिक्षण भई सक्नु पर्नेमा अत्यन्त न्यून संख्यामा मात्र परिक्षण भएको छ । परिक्षण सामग्रीको विश्वसनियतामा प्रश्न उठेका छन् । विदेशमा अफ्ट्यारोमा परेका नेपाली नागरिकको उद्दारको कुनै योजना छैन । कोरोनावाट बिभिन्न क्षेत्रमा उत्पन्न हुने नकारात्मक प्रभावको अध्ययन गरी तत्कालिन र दिर्घकालिन रणनीति बनाउने दिशामा कुनै सुरसार छैन ।’
विषम अवस्थामा पनि भ्रष्टाचारका घटना हुनु, सरकार लोकतान्त्रिक मूल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा व्यस्त रहनु, सासदको अपहरण हुनु जस्ता अवाञ्छीत र आपराधिक गतिविधि कुनैपनि रुपले स्विकार्य हुन नसक्ने देउवाले बताए ।
उनले यी कुराहरूलाई आफ्नो पार्टीले निकै सुक्ष्म ढंगले हेरिरहेको र सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको ठहर गरेको बताए।






















