Breaking News
कोरोना अस्पताल चोरी प्रकरणः छानबिन माग गर्दै महिला संघले गर्यो प्रदर्शन

चितवन, वैशाख २१–
भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा भएको चोरी प्रकरण र अनियमितताको विषयमा निश्पक्ष छानबिन र कारबाहीको माग गर्दै नेपाल महिला संघ चितवन आन्दोलनमा उत्रिएको छ । महिला संघले आइतबार भरतपुरस्थित चौविसकोठी चोकमा प्रदर्शन गरेको छ ।
उनीहरुले भ्रष्टचारीलाई कारवाही गर, अनियमितता छानबिन गर भन्दै करिव एक घण्टा प्रदर्शन गरेका थिए । सो क्रममा बोल्दै नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा चोरी र अनियमितताको घटना हुनु दुःखद भन्दै तत्काल निश्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गरे । अर्का सचिव राजीव न्यौपानेले पनि दोषी माथि कारवाहीको माग गरे । महिला संघ चितवनकी अध्यक्ष पार्वती शाह ठकुरीले दोषीमाथि कारवाही र निश्पक्ष छानबिनका लागि आन्दोलनमा उत्रिनु परेको बताइन् ।

बिरोध कार्यक्रममा नेपाल तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकार, विद्यार्थी नेता परमेश्वर खनाललगायतले सम्बोधन गरेका थिए । भरतपुर कोरोना अस्पतालबाट रातीको समयमा अस्पतालमै कार्यरत तीन जना कर्मचारीहरुले सामान बोके पारेर बाहिर निस्किएको सिसिटिभी फुटेज बाहिरिएको थियो ।
सोही घटनालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगक हेटौंडाले समेत छानबिन प्रक्रियालाई अघि बढाएको छ । अख्तियारले समाचार बाहिरिएको अर्को दिन अस्पतालमा छापा मारेर सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
























