चितवन विशेष

चितवनका शिक्षकहरु अनलाइन आईसिटी सीप सिक्दै

Banner

कारी महतो

चितवन, वैशाख २१–

शिक्षकहरु सबै विषयमा पोख्त हुनुपर्छ भन्ने आम बुझाइ छ । तर यथार्थमा त्यस्तो हुँदैन । कतिपय शिक्षकहरु समय अनुसार आफूलाई परिमार्जन गर्न सकेका छैनन् । अधिकांश शिक्षकहरुको चाहना हुँदाहुँदै पनि विभिन्न व्यवहारिक कठिनाईका कारणले परिवर्तन हुन सक्दैनन् । त्यस्ता शिक्षकहरुलाई अहिलेको वर्तमान परिस्थितिमा प्रविधिमैत्री शिक्षक समाज नेपालले निःशुल्क अनलाइन आईसिटी तालिमको व्यवस्था गरेको छ ।

सूचना तथा सञ्चार प्रविधि बारे अनभिज्ञ रहेका शिक्षकहरुले लकडाउनको समयलाई सदुपयोग गर्दै त्यस सम्बन्धि ज्ञान तथा सीप सिकिरहेका छन् । धेरैजसो आधारभूत ज्ञान हासिल गरेका शिक्षकहरु अध्यापनको क्रममा आइपरेका समस्या समाधानका लागि अनलाइन आईसिटी तालिम लिईरहेका देखिन्छन् ।

लकडाउन शुरु भएसँगै चैत्र २२ गतेदेखि प्रविधिमैत्री शिक्षक समाज नेपालले निःशुल्क अनलाइन तालिम शुरु गरेको संस्थाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका प्राविधिक संयोजक देवप्रसाद पण्डितले जनाएका छन् । वाग्मती प्रदेशका लागि संयोजक पण्डितले जुम एपबाट तालिमको होस्ट गर्दै आईरहेका छन् । आईसिटी तालिम हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म हुने गरेको संयोजक पण्डितले जनाएका छन् ।

अनलाइन तालिमकै क्रममा शनिबार साझापुर माविका कम्प्युटर शिक्षक दुर्गा प्रसाद चौधरीले तालिमको सहजीकरण गरेका छन् । उनको सिकाउने शैलीबाट भर्खर कम्प्युटर प्रविधिमा प्रवेश गरेका शिक्षकहरुका लागि निकै फलदायी भएको सहभागीहरुले जनाएका छन् । कठिन समयमा पनि आईसिटी सम्बन्धि सीप सिक्न पाएकोमा निकै खुशी व्यक्त गर्दै काठमाडौबाट सहभागी एक शिक्षक हेरम्बराज कँडेलले सहजकर्ता चौधरीले निकै सरल तरिकाले सिकाएकोमा धन्यवाद ज्ञापन गरेका छन् । शनिबारको तालिममा ८२ जना शिक्षकहरु सहभागी भएका थिए ।

सूचना प्रविधिमा पछि पर्ने शिक्षकहरुले भविष्यमा निकै ठूलो नोक्सानी व्योहोर्नुपर्ने पूर्व श्रोत व्यक्ति रामकृष्ण लम्सालले बताएका छन् । केहिदिनदेखि नियमित रुपमा तालिममा सहभागी भैरहेका पूर्वश्रोत व्यक्ति लम्सालले सम्पूर्ण शिक्षकहरुले यो अनलाइन तालीम लिनका लागि अनुरोध समेत गरेका छन् ।

लकडाउन अवधिभरि इच्छुक सबै शिक्षकहरुका लागि शुरु गरिएको निःशुल्क अनलाइन तालिम कार्यक्रम लकडाउनपछि पनि निरन्तर अगाडि बढ्ने प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भूपति बस्यालले जनाएका छन् । तर लकडाउनपछि संस्थाको सदस्यता लिएका शिक्षकहरुलाई मात्र तालिममा प्रवेश दिइने अध्यक्ष बस्यालले बताए ।

शनिबारको तालीम कार्यक्रम प्रविधिमैत्री शिक्षक समाज नेपाल वाग्मती प्रदेशका वरिष्ठ उपाध्यक्ष कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>