Breaking News
भारतमा लोकपाल सदस्यसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १३२३ पुग्यो

काठमाडौं, वैशाख २१–
भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३२३ जना पुगेको छ ।
शनिबार मात्रै ९४ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतमा एकै दिनमा मृत्यु हुनेहरुको यो संख्या हालसम्मकै धेरै भएको भारतीय मिडियाहरुले लेखेका छन् ।
यस्तै कोरोना संक्रमणबाट नै भारतीय लोकपालका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको मृत्यु भएको छ ।
अप्रिल दुई तारिखमा स्वास्थ्यमा समस्या आएपछि त्रिपाठीलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षण गर्दा ६२ वर्षीय त्रिपाठीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको स्वास्थ्य विगत तीन दिनदेखि गम्भीर थियो । उनलाई भेन्टिलेटरमा राखिएको थियो । तर स्थानीय समयअनुसार शनिबार राति पौने ९ बजेतिर उनको निधन भएको हो ।
उनकी छोरी र भान्सेलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो, तर उपचारपछि उनीहरु निको भएका छन् । उनी छत्तीसगढ उच्च अदालतको पूर्वमुख्य न्यायाधीशसमेत हुन् ।






















