Breaking News
भरतपुरको कोरोना अस्पताल प्रकरणः चितवन प्रशासनले थाल्यो अनुसन्धान

चितवन,बैशाख १८-
जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको कोरोना विशेष अस्थायी अस्पताल प्रकरणमा अनुसन्धान सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले आज संचारकर्मीसंग कुरा गर्दै अनुसन्धान थालेको बताएका हुन् । अस्पतालबाट सामान ओसार्दै गरेको भिडियो विभिन्न संचार माध्यममा सार्वजनिक भएपछि प्रशासनले अनुसन्धान सुरु गरेको उनले बताए ।

प्रजिअ भट्टराइले अनुसन्धान सत्य तथ्य र निष्पक्ष हुने समेत प्रतिबद्धता जनाए । ‘अख्तियारले आर्थिक पाटोमा छानविन गरिरहेको छ, चोरीको विषय प्रहरीले अनुसन्धान गर्ने भएकाले प्रशासनले प्रहरीसंगको सहकार्यमा काम गर्छ’, उनले भने । अख्तियारले पनि आवश्यक कागजात लगेको र प्रशासन संग पनि सुरक्षित रहेको प्रजिअ भट्टराईले बताए ।
प्रारम्भिक अनुसन्धानमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालको संस्थागत नियोजित नभएको पाएको उनले बताए । ‘थप अनुसन्धानबाट बृस्तृत खुल्ला उनले भने–त्यहाँका केही पात्रले बदमासी गरेको हुनसक्ने देखिएको छ, अनुसन्धानमै रहेको विषय हुनाले निष्कर्षको रुपमा पछि आउँला ।’ घटनामा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइने उनले बताए । अनुसन्धान निष्पक्ष हुने भन्दै सकिएपछि सबैकुरा सर्वजनिक गर्ने उनले प्रतिबद्धता जनाए । घटनाको अनुसन्धानको सहयोगका लागि प्रजिअ भट्टराईले पत्रकार समक्ष आग्रह गरे ।
सो क्रममा पत्रकार महासंघका अध्यक्ष राधेश्याम खतिवडा,पूर्व अध्यक्ष जनक अर्याल,निवर्तमान अध्यक्ष हरी पोखरेल,प्रेस संगठनका केन्द्रिय सदस्य शिशिर सिंङखडाले पत्रकारलाई धम्की दिनेमाथि कारवाहीको माग गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन समक्ष आग्रह गरेका थिए ।






















