Breaking News
पहिलोपटक रत्ननगरमा साढे दुई करोडमा आकाशे पुल निर्माण सुरु

चितवन, वैशाख १८–
पूर्वीचितवनको रत्ननगर नगरपालिकाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत टाँडी चोकमा आकाशे पुल निर्माण सुरु गरेको छ । २ करोड ४२ लाख ४ हजार ५३३ रुपैयाँको लगानीमा निर्माण सम्पन्न हुने सो आकाशे पुलको बिहीबार नगर प्रमुख नारायण वन र उपप्रमुख विमला दुवाडीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
गत फागुन महिनामा सम्झौत गरिएको सो आकाशे पुलको लकडाउनको मौका छोपेर निर्माण कार्य सुरु गरिएको हो । प्रदेश सरकारको एक करोड र नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको एक करोड ४२ लाखको लगानीमा आकाशे पुल निर्माण हुने इन्जिनियर पंकज गिरीले जानकारी दिए । सरकारले आन्तरिक जनशक्ति र श्रोतको परिचालन गरी निर्माणको काम गर्न दिने घोषणा गरेपछि सो नगरपालिकाले आकाशे पुल निर्माण सुरु गरेको हो ।
नगरपालिकाले आकाशे पुल निर्माण हुने स्थान वरपर बिजुलीको तार भूमिगत गर्ने छ । त्यसका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । आकाशे पुल निर्माणको लागि भरतपुरस्थित हिम सगरमाथा कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का पारेको छ ।
दुबै तर्फबाट आवतजावत गर्न मिल्ने गरी ४० मिटर लम्बाई र साढे ५ मिटर उचाइ रहेको आकाशे पुल निर्माण हुने छ । यहाँ नेपालमै पहिलो पटक स्टीलका सामग्रीहरु प्रयोग गरेर सो पुल निर्माण गर्ने नगरपालिकाका प्रवक्ता राजेन्द्र हमालले जानकारी दिए । आकाशे पुललाई अपाङ्गमैत्री बनाउन लिफ्ट जडान गर्ने योजना रहेको उनले बताए ।
आकाशे पुल निर्माणको लागि २०७६ फागुन २ गते सम्झौता गरिएको र २०७७ असार २४ गते भित्र सम्पन्न गर्नुपर्ने छ । आकाशेपुल चालु आर्थिक वर्षको महत्वपूर्ण आयोजना भएको र निर्धारित समयमै निर्माण सम्पन्न गर्ने योजना रहेको नगर प्रमुख वनले बताए ।
शहरीकरणको बिस्तार, सवारी दुर्घटना न्यूनीकरण र नगरलाई विकासको उचाइमा पुर्याउन आकाशे पुल निर्माण सुरु गरिएको मेयर वनले बताए । सो नगरपालिकाले टाँडीचोक, सौराहाचोक र बकुलहर चोका आकाशे पुल निर्माण गर्ने योजना बनाएको छ । अर्को वर्ष सौराहा चोकमा आकाशे पुल निर्माण सुरु हुने छ ।
शिलान्यास कार्यक्रममा नेकपाका नगर अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे, वडाध्यक्षहरु तिलकराज शर्मा, शंकरसिह तामाङ, गुप्तनाथ भट्टराई, रविन्द्र चौधरी, विनोद बस्नेत, केशव आचार्य, हरिकुमार श्रेष्ठ, हेमरान थापा, कार्यपालिका सदस्य मीना गिरीलगायतको सहभागिता रहेको थियो ।
























