Breaking News
नेकपा भित्रको विवाद गम्भिर मोडमाः दुई पक्षबीच हस्ताक्षर गराउन प्रतिस्पर्धा

काठमाडौं, वैशाख १७–
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीको बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद गम्भिर मोडमा पुगेको छ ।
पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका सांसद र अर्का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, झलनाथ खनाल पक्षधरका सांसदहरुको हस्ताक्षर संकलन अभियान नै सुरु भएको छ । यसले पनि नेकपा भित्रको विवाद कुन तहमा पुगेको छ भन्ने प्रष्ट पारेको छ ।
पार्टीभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन लागेपछि आफूहरूले प्रधानमन्त्रीको समर्थनमा बालुवाटारमा हस्ताक्षर गरेको नेकपाका एक सांसदले बताएका छन्।
नवलपरासी पूर्व २ का सांसद तीलबहादुर महत क्षेत्रीले गत चुनावमा जनादेश केपी शर्मा ओलीका पक्षमा आएकाले तत्काल उनलाई हटाउन नहुने भन्दै आफूहरूले हस्ताक्षर गरेको बताएका छन् । उनी जस्तै ओली पक्षधरका थुप्रै सांसदहरुले हस्ताक्षर गरि सकेका छन् भने हस्ताक्षर संकलनका काम अघि बढिरहेको छ ।
नेपाली जनताले पाँच वर्षसम्म ओलीलाई नै प्रधानमन्त्री बन्ने जनादेश दिएको दावी गरेका छन् । सांसद महतले भने–‘पार्टीको सचिवालयको सर्वसम्मत निर्णय भनेको पाँच वर्ष केपी ओली प्रधानमन्त्री बन्ने भन्ने हो। नेपाली जनताको माग पनि त्यही छ। मतदाताका हामी प्रतिनिधिहरू पनि उहाँको पक्षमा छौं।’ ओली पक्षधरका दुबै संसदका गरेर झन्डै ९५ सांसदले हस्ताक्षर गरेको उनको दाबी छ।
नेपालको संविधानमा संसदमा बहुमत प्राप्त पार्टीको संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ। प्रतिनिधि सभा सांसदले मात्र संसदीय दलमा मत हालेर नेता चुन्न पाउँछन्। प्रतिनिधि सभामा नेकपाका एक सय ७६ सांसद छन्। संसदीय दलमा बहुमत सिद्ध गर्न प्रधानमन्त्री ओलीलाई ८९ जना सांसदको समर्थन चाहिन्छ।
यता प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका सांसदहरूको हस्ताक्षर अभियान चलाइरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले पनि सांसदहरूको हस्ताक्षर संकलन सुरू गरेका छन् ।
प्रचण्ड–नेपाल पक्षले काठमाडौंबाहिर रहेका सांसदहरूलाई समेत काठमाडौं बोलाइ सकेको र हस्ताक्षर संकलन अभियान सुरु भएको एक सांसदले जानकारी दिए । प्रचण्ड र नेपाल मिल्दा संसदीय दलमा समेत प्रधानमन्त्री ओली अल्पमतमा पर्ने ती नेताको दाबी छ।






















