चितवन विशेष
पत्रकारलाई धम्की दिएकोमा प्रेस संगठनको ध्यानाकर्षण

चितवन, वैशाख १७–
प्रेस संगठन नेपाल चितवनले अनलाइनखबर डटकम चितवनका संवाददाता सुवास पण्डितलाई धम्की दिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका संयोजक प्रकाशमणि ज्ञवाली र सहसंयोजक तीर्थ नेपालद्धारा बुधबार जारी विज्ञप्तीमा समाचार लेखेकै कारण चेतावनीसहितको धम्की दिनु निन्दनीय र खेदजनक रहेको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ–‘अस्पतालका विषयमा प्रकाशित÷प्रसारित समाचार र लेख्ने पत्रकारलाई लक्षित गरी अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ती नै निकालेर ‘समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरी आफैले आवश्यक कारवाही गर्ने’ चेतावनीसहित धम्की दिनु निन्दनीय र खेदजनक छ । प्रकाशित समाचार प्रति कुनै गुनासो भए कानुनी उपचारका मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारलाई धम्की दिनु आपत्तिजनक छ ।’
संगठनले आमपत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षा गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
केही दिन अघि सिसिटिभी फुटेजसहित कोरोना अस्पतालकै कर्मचारीले रातीको समयमा स्टोरबाट सामग्रीहरु चोरी गरी बाहिर निकालिएको समाचार प्रकाशित गरिएको थियो ।
























