Breaking News
भरतपुर कोरोना अस्पतालमा चोरी प्रकरणः पत्रकारलाई कारवाही गर्ने कर्मचारी संगठनको धम्की

चितवन, वैशाख १६–
भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोरमा भएको चोरीको घटना देखिएको सिसिटिभी फुटेजसहित समाचार प्रकाशित गर्ने पत्रकारलाई कर्मचारीहरुले कारवाही गर्ने धम्की दिएका छन् । अस्पतालको फेसबुक पेज समेत दुरुपयोग गर्दै पोष्ट गरिएको विज्ञप्तीमा पत्रकारलाई उल्टै कारवाही गर्ने धम्की दिइएको हो ।
अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ चितवनकी अध्यक्ष मिरा अधिकारी र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन चितवनका अध्यक्ष शेष सापकोटाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै पत्रकारलाई कारवाही गर्ने धम्की दिएका हुन् । विज्ञप्तीमा भनिएको छ–‘समाचार प्रकाशित गर्नेहरुलाई कारवाहीका लागि सम्बन्धित निकाय समक्ष माग गर्दछौं, अन्यथा यस संगठन आफैले त्यस्ता व्यक्तिहरुको पहिचान गरी आवश्यक कारवाही गर्ने जानकारी गराउँद छौं ।’
भरतपुर कोरोना अस्पतालको स्टोरबाट रातीको समयमा विभिन्न सामग्रीहरु लिएर तीन जना कर्मचारीहरु सञ्जय बराल, सूर्य तिवारी र फणिन्द्र प्रसाद खनाल बाहिर निस्किएको सिसिटिभी फुटेज बाहिरिएको थियो । सो सिसिटिभी फुटेजमा एक जना कर्मचारीहरुलाई उनीहरुले कुटपिट समेत गरेको देखिन्छ ।






















