Breaking News

चितवनमा प्रहरीको अमानविय हर्कत

Banner

चितवन, वैशाख १५–

आज लकडाउनको ३५ औं दिन । अन्य दिन जस्तै आज चितवनका सडकमा प्रहरी तैनाथ थिए । प्रहरीले हरेक दिन चेकजाँच गरिरहेको छ । तर आज प्रहरीको चेकजाँच भने विल्कुलै फरक देखियो । प्रहरीको हर्कत देखेर सबै दंग थिए । भरतपुरको चौविसकोठी चोकमा विहान १० बजेको समयमा भएको चेकजाँचले अतिआवश्यक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुसंगै पत्रकारहरुले समेत दुःख भोग्नु पर्‍यो । प्रहरीको हर्कतले चितवनको मात्र नभई देशकै पत्रकारिता जगत तरंगित बन्यो ।

समाचार संकलनका लागि निस्किएका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीका संचारकर्मी अर्जुन अधिकारीमाथि चौविसकोठी चोकमा प्रहरीले अमानविय व्यहार गरेको हो । पत्रकार भएको परिचय पत्र देखाउँदा देखाउँदै पनि प्रहरीले जबरजस्ती सवारी साधनसंगै गाडीमा राख्यो र जिल्ला प्रहरी कार्यालय पुर्‍यायो । प्रहरी कार्यालयमा पुगेपछि स्कुटर सोही कार्यालयमा राखियो भने दुवै जनालाई कारवाहीका लागि भन्दै भरतपुर कर्वडहलमा प्रहरीले बनाएको क्वारेन्टिनसम्म पुर्‍याईयो । यी सबै व्यवहारले चितवनका पत्रकारहरु माथि प्रहरीले गर्ने व्यवहार प्रष्ट भयो । कुनै अपराधि जस्तै गरी परिचय दिँदा दिँदै पनि प्रहरीले दुःख दिएको कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजालले बताए । उनले भने–‘१५ वर्ष भन्दा बढी समयदेखि पत्रकारिता गरिरहँदा पहिलोपटक यस्तो व्यवहार सहनुप¥यो, प्रहरीले मानसिक रुपमै टर्चर दिने काम गर्‍यो ।’

उनी लकडाउनको अवस्था बारे फोटो खिच्न मुख्य राजमार्गमा निस्किएका थिए । सोही बेला चौविसकोठीमा चेकजाँच भइरहेको थियो । उनले फिल्डमा खटिएका एक हवल्दारले अपशब्द प्रयोग गर्नुको साथै पत्रकार परिचय दिँदा झनै अमानविय व्यवहार गरेको रिजालले बताए ।

यस्तै अर्का संचारकर्मी अर्जुन अधिकारीले पनि सोही बेला चौविसकोठीमा पुगेका थिए । पत्रकार रिजालको स्कुटर प्रहरीले गाडीमा राखी सकेपछि अधिकारी र रिजालको भेट भएको थियो । पत्रकार रिजालको स्कुटर गाडीमा राखेको देखेपछि उनले फोटो खिच्न अघि बढे । सोही बेला किन फोटो खिचेको भन्दै प्रहरीले उनलाई पनि अमानविय व्यवहार गर्दै गाडीमा राख्यो । अधिकारीले भने–‘प्रहरीको अहिलेसम्म यस्तो व्यवहार खेप्नु परेको थिएन, आज प्रहरीको व्यवहार देखेरै चकित भए ।’ उनले थपे–‘हामी पत्रकार भन्दा त हामीलाई तथानाम गाली गरे, अन्यलाई गाली गरेको शब्द भन्न पनि सक्दिन ।’ उनीहरु दुवैले पत्रकार भनेर परिचय गराएकै आधार प्रहरी उनीहरुमाथि झन आक्रमक बनेको थियो ।

यही विषयलाई लिएर नेपाल पत्रकार महासंघ, प्रेस संगठन र नेपाल प्रेस यूनियनलगायत पत्रकारको टोली दिउँसो जिल्ला प्रशासन कार्यालय पुगेको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसंगको भेटपछि पत्रकारहरु पुनः पत्रकार महासंघको कार्यालय आइपुगेका थिए । प्रहरी प्रमुख नान्तीराज गुरुङसंग भेटका लागि ४ बजेपछि समय तय भइसकेपछि पत्रकारहरु महासंघमै थिए ।

जिल्ला प्रहरी कार्यालय अगाडि भने मानिसहरुको भीड थियो । अतिआवश्यक काममै बाहिर निस्कएकाहरुको सवारी प्रहरीले कार्यालयमा राखेपछि उनीहरु सवारी साधन लिन प्रहरी कार्यालय पुगेका थिए । सोही अवस्था देखेपछि कान्तिपुर दैनिककी पत्रकार प्रमिता ढकाल फोटो खिच्न पुग्दा उनलाई पनि प्रहरीले नियन्त्रणमा लियो । फोटो खिचेको भन्दै महिला प्रहरीले नै उनलाई नियन्त्रणमा लिएपछि पत्रकारहरु थप शसंकित बनेका थिए । उनलाई केही समयपछि प्रहरीले छोडेको थियो ।

आज प्रहरीको हर्कत पत्रकारले मात्र होइन, जसलाई कार्यालय जान भनिएको थियो उनीहरु समेत परे । सरकारले बैंक तथा वित्तिय संस्थाहरु खोल्न निर्देशन दिएको छ भने स्थानीय तहहरुले नतिजा सार्वजनिक गर्न आग्रह गरेका छन् । सोही अनुरुप घाटीमा परिचय पत्र झुण्डाएर सरोकारवाला व्यक्तिहरु विहान निस्किएका थिए । ती सबै प्रहरीको हप्की खादै दिनभर तनाब व्यहोर्न बाध्य भए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>