चितवन विशेष
मुस्लिम समुदायमा रमजान सुरु, चितवनमा घरघरमै पढ्न थाले नमाज

अमिर बरकाती
चितवन, वैशाख १३–
आज (शनिबार)देखि मुस्लिम धर्मावलम्बीहरुको महान पर्व रमजान सुरु भएको छ । विशेषत, यस पर्वमा मुस्लिम धर्मावलम्बीहरु एक महिना सम्म अन्न, फलफूल र पानी पनि नपीइकन भोको पेट बस्ने गर्दछन । जसलाई रमजानको रोजा पनि भनिन्छ। रमजानको ब्रत रोजा बस्दा बिहान सूर्य उदय हुनुअघि केही खानेकुराहरु भोजन गरेर सुरु हुने यस ब्रत साझ सूर्यास्त अर्थात् घाम डुबेपछि सकिने गर्दछ । यसरी नै एक महिनासम्म ब्रत बस्ने गर्दछन् ।
महिनाको अन्त्यमा भने इद मानिदै आएको छ । अलजामेअतुल बरकातीया बरकाती जामे ममस्जिदका पुजारी धर्मगुरु हाफिज काजी मियाका अनुसार यस एक महिनाको ब्रतलार्इ १०, १० र १० दिन गरी तीन भागमा विभाजन गरिएको छ । जसमा पहिलो दश दिनको ब्रत रहमत दयाको लागि हो । त्यस्तै दोस्रो दश दिन मग्फिरत अर्थात आफूले गरेको पापको प्रायश्चीतको लागी हो भने अन्तिम दश दिन चाहीँ मृत्युपछि पाइने सजायबाट बाट बच्नको लागी बसिन्छ ।
यस पवित्र महिनामा रोजा नबस्ने मुस्लिम कम मात्रमा पाइन्छ । जसमा ११ वर्षदेखि माथिका बच्चाहरुको लागि अनिवार्य छ भने रोगी, अशक्त र वृद्धहरुलाई अनिवार्य छैन भनि कुरानमै भनिेएको छ । सामान्यतया मुस्लिमहरु दिनमा पाँच पटक नमाज पढ्ने गर्दछन् ।
यस वर्ष कोराना भाइरसको महामारीसंगै चितवनका सबै मस्जिदहरुमा धर्मगुरु मात्र पढने छन् भने अन्य व्यक्तिहरु भने आ–आफनै घरमा पढने सूचना जानकारी गराईएको छ । नारायणगढका मुस्लिम समुदायका मानिसहरुले कोरोना संक्रमण बढेसँगै घरमै बसेर नमाज पढ्न थालेको अलजामेअतुल बरकातीया बरकाती जामे मस्जिदका पूर्व सचिव हाजी नजम दिनले जानकारी दिए । त्यस्तै, उनले केही मिडियाहरुबाट आफूहरुप्रति गलत दृष्टिकोण फैलाइरहेकोले आफूलाई दुःख लागेको बताए ।
हाजी नजमदिनले मस्जिदमा कोही पनि नआएको र विदेशीहरु नभएको स्पष्ट पार्दै मदर्सामा केही कोठाहरु भाडामा लगाइएको बताए । ती कोठाहरुमा वर्षौवर्षदेखि ती व्यक्तिहरु बस्दै आएको उनको भनाई छ ।























