Breaking News
लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा, खुकुलो बनाउने अवस्था नरहेको उच्च स्तरीय समितिको निष्कर्ष

काठमाडौँ, वैशाख १३-
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समितिले तल्कालै लकडाउन खुकुलो बनाउने अवस्था नरहेको निष्कर्ष निकालेको छ ।
लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ । यसबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्ने समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए ।
पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको र देशका विभिन्न भूभागमा प्रभाव देखिएको भन्दै तत्काल लकडाउन खुकुलो बनाउन नहुने समितिको निश्कर्ष रहेको छ । लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन निर्देशन दिएपछि उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो ।
देश तत्काल कोरोना संक्रमणको जोखिमबाट मुक्त भइनसकेको निश्कर्ष रहेको समितिका एक सदस्यले बताए ।
शनिवार बसेको समितिको र्बैठकमा हिमाली जिल्लाहरुमा भने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगको छलफल पछि ति जिल्लाका लागि केही निर्णय गर्न सकिने बारे छलफल भएको उनले बताए ।
प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि लकडाउनकै कारण संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको समन्वय समितिको निष्कर्ष रहेको सुनाए । उदयपुरको एउटा घटनाबाहेक अन्यत्र संक्रमित कम रहेको भन्दै उनले भने, ‘हामी सही ट्र्याकमा छौँ । तर, छिमेकी मुलुकहरूको अवस्थालाई हेरेर जानुपर्छ । अब कति दिन थप्ने, के गर्ने भन्ने मन्त्रिपरिषद्ले गर्नेछ ।’
वैशाख १५ गते लकडाउनको अवधि सकिनु अघि बस्ने मन्त्रिपरिषद्ले यसबारे आवश्यक निर्णय गर्ने छ ।
























