प्रचलन

मुसलमान समुदायले गरे रोजामा कोरोना भाइरस समाप्तिको प्रार्थना

Banner

राँझा, वैशाख १३-

नेपालगञ्जका मुसलमान समुदायले आजदेखि शुरु भएको पवित्र पर्व रमजानको रोजामा कोरोना भाइसर समाप्तिको प्रार्थना गरेको छ । रोजाका बेला मस्जिदमा गएर नमाज पढ्ने परम्परा रहेकामा यस वर्ष कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण घरमा नै बसेर रोग समाप्तिको प्रार्थना गरिएको केन्द्रीय हज कमिटीका पूर्वअध्यक्ष एवम् धर्मगुरु मौलाना अव्दुलजव्वार मञ्जरीले बताउनुभयो ।

‘कोरोना भाइरस महामारीले लकडाउनका कारण देशमा बन्द छ नागरिक आआफनो घर बसिरहेका छन् । यस्तो अवस्थामा रमजानको रोजा पनि घरमै प्रार्थना गरेर शुरु भएको छ’, धर्मगुरु मञ्जरीले भन्नुभयो,‘कोरोना भाइरसका कारण परम्परागत धार्मिक तरिकाले मनाउन नपाइएकोले यो वर्ष रमजानको रोजामा कोरोना भाइरस अन्त्यको कामना गरिएको छ ।’

उहाँका अनुसार बन्दाबन्दीका कारण रमजानको रोजामा चाहिने खजूर बजारमा नपाइने भएकोले स्थानीयस्तरमा पाइने फल वा घरमा नै बनाइएको पकवानबाट रोजा खोल्न आग्रह गरिएको छ । एक महीनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बी उपवास बस्ने गर्छन् जसलाई ‘रोजा’ भनिन्छ । अङ्ग्रेजी पात्रोअनुसार रमजानको रोजा आजदेखि शुरु भएको छ । इस्लामी पात्रो चन्द्रमाको गतिसँग सम्बन्धित तिथिमितिअनुसार तय हुन्छ । यसैले शाअबान महिना समाप्तिसँगै रमजान महिना शुरु हुँदा चन्द्रमा हेरेर रोजा शुरु गरिन्छ भने रमजान महिना समाप्तिको जानकारी पनि चन्द्रमा हेरेर नै हुन्छ ।

‘मानव जीवनलाई बचाउनका लागि सरकारले लकडाउनको समयलाई बढाएको छ तर दैनिक मजदूरी गरी परिवार पाल्नेलाई समस्या हुँदै गएको छ । यस्तो परिस्थितिमा समाजका सम्पन्न व्यक्तिले गरीबहरुलाई सहयोग गर्न अगाडि आउन जरुरी छ ’, अधिकारकर्मी आलम खान भन्नुहुन्छ, ‘रमजानमा रोजा इफ्तार पार्टीमा खर्च हुने पैसालाई बचाएर विनाभेदभाव विपन्न व्यक्तिलाई सहयोग गर्न जरुरी भएको छ ।’

मुसलमान समुदायको पवित्र पर्व रमजानका अवसरमा नेपालगञ्जका धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाजसमेत घरमै पढ्ने गरी व्यवस्था मिलाउन सार्वजनिक आग्रहसमेत गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा नेपालगञ्जका मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले रमजान पर्वका क्रममा हुन सक्ने पारिवारिक भेटघाटलाई पनि सीमा दूरी कायम गर्दै सचेतना अपनाउन आग्रह गर्नुभयो ।

कपिलवस्तुमा रमजान

कपिलवस्तुः इस्लाम धर्मावलम्वीको पवित्र महिना रमजान आजदेखि शुरु भएको छ । एक महिनासम्म चल्ने रमजानमा विश्वभरका मुसलमान उपवास बस्ने चलनलाई रोजा भनिन्छ । यहाँको नेपाली मुसलमान समुदायले पनि राति खाना खाएर रोजा बस्न शुरु गरेको छ ।

रोजा बस्ने व्यक्तिका लागि सूर्योदय हुनुभन्दा अघिदेखि सूर्यास्तनहुञ्जेल कुनै पनि खानेकुरा खान वा कुकर्ममा रोक लगाइएको प्रदेश ५ मदरसा बोर्डका उपाध्यक्ष तथा मौलाना मसहुद खाँ नेपालीले जानकारी दिनुभयो ।

रमजानको महिनामा दिनमा पाँच पटक नमाजका अलावा बेलुकी ‘तरावीह’ नाम दिइएको २० रिकात नमाज पढिन्छ । रमजानमा एक व्यक्तिले कमाएको पुण्य ५० व्यक्तिले पाएको पुण्य बराबर हुने विश्वास रहेको मुस्लिम इतिहात संगठनका केन्द्रीय अध्यक्ष सिराज फारुकीले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>