Breaking News
राष्ट्रिय सरोकार समितिको सुझावः जोखिम हेरेर लकडाउन ठाउँअनुसार खुकुलो वा कडा बनाऔं

काठमाडौं बैशाख १२-
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै जारी लकडाउनलाई स्थान विशेषअनुसार खुकुलो वा कडा बनाउन राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाई सुझाव दिएको छ । समितिको आज (शुक्रवार) बसेको बैठकले कोभिड– १९ को जोखिमलाई हेरी भूगोललाई रेड जोन, एल्लो जोन र ग्रीन जोनमा विभाजित गर्दै लकडाउनलाई खुकुलो वा कडा बनाउन सुझाव दिएको हो ।
’कोरोना संक्रमण बढिरहेको सन्दर्भमा लकडाउनलाई निरन्तरता दिँदै आगामी दिनमा देशको भूगोल र संक्रमणको अवस्था हेरी ग्रीन जोन, एल्लो जोन, रेड जोनमा वर्गीकरण गरी स्वास्थ्य सुरक्षालाई विचार गरी ग्रीन जोनमा लकडाउनलाई खुकुलो बनाउनेतर्फ सरकारलाई सोच्न सुझाव दिने,’ समितिको निर्णय छ ।
काठमाडौंलगायत ठूला शहरबाट घर जाने नागरिकलाई प्रदेश सरकार, विशेष गरी स्थानीय तहसँगको समन्वयमा सुरक्षित व्यवस्थापन गर्ने सुझाव पनि समितले दिएको सभापति दिलकुमारी रावल पार्वतीले जानकारी दिनुभयो । बैठक बस्दा सामाजिक दूरी र पर्याप्त सुरक्षा सावधानी अपनाइएको उहाँले बताउनुभयो ।
यस्तै बैठकले स्वास्थ्य सामग्रीको पर्याप्त उपलब्धता, परीक्षणलाई द्रूतगतिमा विस्तार गर्नुपर्ने, स्वास्थ्य केन्द्र, जिल्ला व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उल्लेख गरेको छ । सरोकारवाला मन्त्रालयहरू तथा अन्य निकायसँगको छलफललाई निरन्तरता दिने र प्रभावकारी समन्वयका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच व्यवस्थित समन्वयमा जोड दिनुपर्ने बैठकको निर्णय छ ।
कृषक र कृषि क्षेत्रको व्यवस्थित योजना, कार्यक्रम र बजेटसहित तत्कालीन र दीर्घकालीन योजना ३ तहका सरकारको सहकार्य र समन्वयमा तत्काल सञ्चालन गर्न सरकारलाई सुझाब दिइएको छ । यस्तै स्वास्थ्य सतर्कता र सुरक्षामा ध्यान दिँदै राष्ट्रिय महत्वका आयोजनाको काम अगाडि बढाउन सरकारलाई आग्रह गरिएको छ ।
बैठकले दैनिक ज्यालादारी, मजदुर तथा गरीब, असहाय नागरिकलाई व्यवस्थित राहत वितरण गर्न आवश्यक बजेट केन्द्र तथा प्रदेश सरकारले स्थानीय तहलाई दिने र एकद्वार तथा न्यायसंगत ढंगले स्थानीय तहमार्फत वितरणको व्यवस्था मिलाउन सम्बन्धित पक्षलाई सुझाव दिने निर्णय गरेको छ । बिउबिजन, रसायनिक मल, पशुपंक्षी आहार आदि स्थानीय तहमार्फत किसानसमक्ष र्पुयाउन र कृषकद्वारा उत्पादित तरकारी दूध, अण्डा, माछामासु आदि बजारसम्म पुग्ने व्यवस्था मिलाउन निर्देशन दिइएको सभापति रावलले बताउनुभयो ।
























