Breaking News

प्रधानमन्त्री ओलीले भने – मन मिल्दा पार्टीमा केही हुँदैन, नमिल्दा प्रतिशतले रोक्दैन

Banner

काठमाडौं, वैशाख १०-

सरकारले ल्याएका दुई अध्यादेशका कारण नेकपाभित्र असमझदारी उत्कर्षमा पुगेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार बालुवाटारमा सांसदहरुसँग सामुहिक छलफल गरेका छन् ।

अध्यक्षद्वयले नेकपाका सांसदहरुसँग बुधवार बालुवाटारमा छलफल गरेको र यो क्रम विहीबार पनि जारी रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पार्टी स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको छलफलमा बुधवार सुदूर पश्चिम प्रदेशबाट सांसदहरुसँग छलफल शुरु भएको हो । प्रदेश नम्बर १ र बागमती प्रदेश हुँदै क्रमश सातवटै प्रदेशका सांसदहरुसँग आज र भोलि छलफल गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

सोमबार जारी भएका दुई अध्ययादेश र कोरोना भाइरसका कारण लगाइएको लकडाउनका विषयमा अध्यक्षद्वयले सांसदहरुलाई प्रस्ट पारिरहेका छन् ।

ओलीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा नआएसम्म लकडाउन नखुल्ने पनि स्पष्ट पारेका छन् ।

ओलीले लकडाउनलाई केही खुकुलो बनाउन सकिने संकेत गरेका थिए । लकडाउनका कारण समस्यामा परेकाहरुले घर जनाका लागि प्रशासनसँग सम्पर्क गर्ने पनि प्रधानमन्त्रीले आग्रह गरेको थिए ।

छलफलका क्रममा धेरै सांसदहरुले अध्यादेशबारेमा चासो राखेका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु सामान्य विषय भएको बताएका थिए ।

सांसद निरुदेवी पालका अनुसार प्रधानमन्त्री ओलीले अध्ययादेश नियमित प्रकृया अनुसार आएको र दल विभाजनमा ४० प्रतिशत हुँदा वा नहुँदा फरक नपर्ने बताएको उल्लेख गरिन् ।

मन मिलेमा जतिप्रतिशत भएपनि असर नगर्ने र नमिले जति प्रतिशत भएपनि फुटिहाल्ने धारणा प्रधामन्त्रीले सांसदहरुसँगको छलफलमा राखेका थिए ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले पार्टीमा नेताहरुको मन मिलेमा एकताबद्ध भएर जान सकिने र मन नमिलेमा कानूनले कसिकसाउ गरेमा पनि फुट्ने बताएका थिए ।

प्रधानमन्त्रीले केही मिटरको दूरीमा बसेका प्रचण्डलाई पनि सांसदहरु समक्ष केही कुरा राख्न आग्रह गरे । तर, प्रचण्डले ‘प्रधानमन्त्रीज्यूले भनिसकेपछि मैले बोल्नुपरेन’ भन्दै मौनता तोडेनन् ।

प्रधानमन्त्री ओलीले नेकपा एकीकरण विभाजनका लागि नभई अझ बलियो एकताका लागि भएकाले कुनै हालतमा पार्टी फुट्न नदिइने वचन दिए । दुई अध्यक्षबीच कतिपय असमझदारी भए छलफल गरेर सहमतिमै पार्टी र सरकार सञ्चालन हुने ओलीले बताएको कञ्चनपुर २ का सांसद नरवहादुर धामीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>