चितवन विशेष
अनेरास्ववियू र राष्ट्रिय युवा संघले चितवनका सात स्थानमा रक्तदान गर्ने

चितवन,बैशाख ९-
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न गरिएको देशव्यापी लकडाउनका कारण रगतको चरम अभाव भएपछि नेकपाका भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघ चितवनले रक्तदान कार्यक्रम आयोजना गरेका छन् । दुवै संगठनले संयुक्त रुपमा चितवनका विभिन्न क्षेत्रमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेका हुन् ।
अनेरास्ववियू चितवनका जिल्ला संयोजक प्रकाश आचार्य र राष्ट्रिय युवा संघका संयोजक मधु न्यौपानेले विज्ञप्ती जारी गर्दै आफ्नो स्थानिय तहमा हुन लागेको रक्तदानमा सहभागि हुन युवा विद्यार्थीलाई आब्हान गरेका छन् ।
रक्तदान कार्यक्रम बैशाख ११ गते भरतपुर १ रामनगर, १५ गते भरतपुर ११ को युटेक कलेजमा, १८ गते भरतपुर १० को सप्तगण्डकी क्याक्पसमा, २० गते भरतपुर १२ मा, २२ गते पश्चिम चितवनको भरतपुर २४ मा, २५ गते रत्ननगर नगरपालिकाको टाँडी र २८ गते कालिका नगरपालिकाको खोलेसिमलमा आयोजना गरिएको छ ।
पार्टी जिल्ला कार्यालयको बैठकको निर्णय अनुसार रक्तदान गर्न लागिएको अनेरास्ववियू चितवनका संयोजक प्रकाश आचार्यले जानकारी दिए । विपदमा सधै नागरिकको साथमा रहेका युवा विद्यार्थीले लकडाउनको समयमा पनि पालिका स्तरमा रक्तदान कार्यक्रम गर्न लागेको उनले बताए ।
विज्ञप्ती मार्फत दुवै संगठनले लकडाउनको पूर्ण पालना गर्न र उच्च मनोवल बनाउन आब्हान गरेका छन् । कालोबजारी र कृतिम अभाव सृजना गर्नेलाई कारवाहीको दायरामा ल्याउन समेत अनेरास्ववियू र राष्ट्रिय युवा संघले माग गरेका छन् ।























