Breaking News
महाविर पुनको निगरानीमा कोरोनाविरुद्धको स्वास्थ्य उपकरण बनाउँदै चितवनका युवा (भिडियो)

चितवन, वैशाख ७–
राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महाविर पुनको निगरानीमा चितवनका युवाहरुले कोरोना भाइरस (कोभिड–१९)संग लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु निर्माण गर्न थालेका छन् । भरतपुरका चार जना युवाहरु मिलेर अहिले टेस्टिङ बुथ निर्माणदेखि अन्य उपकरणहरु बनाइरहेका छन् ।
युवाहरु शैलेस गिरी, सुदिप देवकोटा र सागर कार्की प्रत्यक्ष रुपमा निर्माण गरिरहेका छन् भने विमल प्रधानले सहयोगीको रुपमा निर्माण कार्यमा खटिएका छन् । गिरी मेडिकल क्षेत्रका हुन् भने देवकोटा र कार्की भने सिभिल इन्जिनियर हुन् ।
उनीहरु अहिले आफ्नै खर्चमा ती सामग्रीहरु निर्माण गरिरहेका छन् । अहिले एउटा टेस्टिङ बुथ निर्माण सम्पन्न भइसकेको छ । टेस्टिङ बुथबाट कोरोना भाइरस आशंका गरिएका बिरामीहरुबाट सहज रुपमा स्वाब संकलन गर्न सकिने देवकोटाले बताए । उनले भने–‘स्वास्थ्यकर्मीहरुलाई स्वाब निकाल्दा धेरै जोखिम देखिन्छ, यस बुथले सहज रुपमा भयरहित काम गर्न सघाउँ पुग्छ ।’
यस टेस्टिङ बुथ राष्ट्रिय अविष्कार केन्द्रको गाइडलाइन अनुरुप निर्माण गरिएको अर्का युवा गिरीले बताए । उनले भने–‘हामी भिडियोमार्फत अविस्कार केन्द्रसंग सम्पर्कमै छौं, उहाँहरुले बनाइरहेका सामग्री अनुरुप नै हामी निर्माण गरिरहेका छौं ।’
युवाहरुले टेस्टिङ बुथको साथै एरोसियल बक्स समेत निर्माण गरेका छन् । विषम परिस्थितिमा जुनसुकै बिरामीलाई चेकजाँच गर्न पनि सहज हुने उनीहरुको भनाइ छ । युवाहरुले अहिले आफ्नै खर्चमा सामग्री निर्माण गर्दा केही गाह्रो महसुस गरिरहेका छन् । स्थानीय सरकार, प्रदेश सरकारले मात्रै सहयोग गरेपनि विभिन्न उपकरणहरु चितवनमै बनाउन सकिने उनीहरुको भनाई छ । उपकरण निर्माणमा खटिएका युवा सागर कार्कीले सबैको सहयोग रहे रोबर्ट, सेनिटाइजिङ मेसिनका उपकरणहरु निर्माण गर्न सकिने बताए । उनले भने–‘हामीलाई अवस्किार केन्द्रले गाइड गरिरहेको छ, हामीलाई सामग्रीहरु मात्र उपलब्ध भए धेरै उपकरण निर्माण गर्न सक्छौं ।’
युवाहरुको महत्वपूर्ण उपकरणहरु आफ्नै लगानीमा निर्माण गरिरहेको थाहा पाएपछि बाग्मती प्रदेशका सांसद विजय सुवेदी आइतबार निर्माण गरिरहेको स्थान हाकिमचोकमा पुगे । युवाहरुलाई हौसला दिन पुगेका सांसद सुवेदीले केही सरसल्लाह समेत दिए । उनले भने–‘युवाहरुले आफ्नै बलबुताले निकै महत्वपूर्ण र आवश्यक उपकरण बनाएको थाहा पाएर यहाँ आए, युवाहरुलाई सहयोग गर्न आवश्यक छ ।’ उनले युवाहरुलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बाचा गरे ।
नयाँ-नयाँ काममा अगाडि बढी हाल्ने स्वभावका सांसदको सुझावले युवाहरुालाई आशाको संचार छाएको थियो । सांसद सुवेदीले स्थानीय तह र प्रदेश सरकारलगायतका सरोकारवाला निकायले सहयोग गर्न सक्ने अतिआवश्यक उपकरणहरु चितवनमै बन्न सक्ने अवस्था देखिनु सुखद रहेको बताए । उनले युवाहरुलाई सबैको सहयोग गर्नुपर्ने धारणा राखे ।

























