चितवन विशेष
पूर्वीचितवनमा हावाहुरी र असिनाले पुर्याएको क्षतीको विवरण संकलन गरिने

चितवन, वैशाख ७–
शनिबार साँझ आएको हावाहुरी र असिना पानीले पूर्वी चितवनमा नगदे बालीमा पारेको असरको तत्काल लगत संकलन गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको कृषि जन्य उत्पादनका क्रियाकलापहरुलाई संञ्चालन गर्नका लागि समन्वयात्मक बैठकमा तत्काल क्षतिको लगत संकलन गर्ने निर्णय गरिएको हो ।
कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा परेको असिना पानी र हावाहुरीले मकै, तरकारी र केरामा क्षती पुगेको छ । क्षतीको कृषि ज्ञान केन्द्र भरतपुरले प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना र स्थानीय तहहरुसंग समन्वय गरेर विवरणलिई जिल्ला विपद व्यवस्थापन समितिमार्फत सम्बन्धित निकायमा पठाईने भएको छ । अन्तरक्रियामा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले हावाहुरी र असिनाका कारण पूर्वीचितवनका कृषकले ठूलो नोक्सान बेहोर्नु परेको भन्दै राहतका लागि आवश्यक पहल आजैबाट थाल्नुपर्ने बताए ।
कृषि ज्ञान केन्द्रको सिफारिसमा साल्ट ट्रेडिङ र कृषि सामग्री संस्थानले मल बिउ वितरण गर्न आग्रह गर्दै अहिलेका बालीहरुलाई आवश्यक पर्ने मल बिउ व्यवस्थापन गर्न उनले आग्रह गरे । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले मल, बिउ, औजार र कृषि जन्य उत्पादनको ढुवानीमा रोक नलगाईएको तर भिडभाड गर्न नहुने बताए । कृषि ज्ञान केन्द्रको सिफारीसमा कृषि जन्य उत्पादन र बजारीकरणमा सहजीकरण गर्न प्रशासन सकारात्मक रहेको उनले बताए ।
सो अवसरमा कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल, प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सीना, साल्ट ट्रेडिङ लिमिटेडका चितवन प्रमुख बुद्धिविनोद दाहाल र कृषि सामग्री केन्द्र चितवनका प्रमुख रविन्द्र गौतमले कृषि उत्पादन, बजारीकरण र मल बिउको अहिलेको अबस्थाको बारेमा जानकारी गराएका थिए ।
























