Breaking News
मन्त्रीले कोरोना संक्रमितको अवस्था बुझे,मेडिकल सामाग्री प्रदेश सरकारले तत्काल पठाउने

चितवन, वैशाख ६ –
बाग्मती प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले चितवनमा कोरोना संक्रमितको अवस्था बुझेका छन् । उनले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी मार्फत उनिहरुको अवस्था बुझेको मन्त्री लामाका स्वकिय सचिव सुरज थपलियाले जानकारी दिए । सो क्रममा डा.अधिकारीले संक्रमित दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको जानकारी गराए । मन्त्री लामाले संक्रमितको रेखदेख र उपचारमा कुनै कमी हुन नदिन आग्रह गरे । उनले संक्रमितको स्वास्थ्यलाभको कामना गरे ।
मन्त्री लामाले चितवनमा आवश्यक स्वास्थ्य सामाग्री,उपकरण र औषधि प्रदेश सरकारले व्यवस्था गर्ने बताए । ‘मैले विहानै सामाजिक विकास मन्त्रीसंग छलफल गरेको छु,आजै आत्यावश्यक सामाग्री पठाउने तयारी गरेका छौं,उनले भने । उनले सिङगो गाउँलाई नै क्वारेन्टीनमा राख्नुपर्ने भएकाले त्यसको समेत तयारी थालिएको बताए । मन्त्री लामा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाइलाई समेत टेलिफोन गरेर आवश्यक सहयोग गर्न निर्देशन दिएका छन् । उनले थप जोखिम हुन नदिन आवश्यक पहल र तयारी गरिने बताए । मन्त्री लामाको निर्वाचन क्षेत्रका संक्रमित भएका कारण पनि उनले विशेष चासो देखाएका हुन् ।
पूर्वीचितवनको राप्ती नगरपालिका वडा नं. ८ का ६३ वर्षीया महिला (आमा) र २७ वर्षीय पुरुष (छोरा)को शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट नेपाल आएका थिए । एक महिनापछि उनिहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । दुई दिन काठमाडौं बसेर उनीहरु चितवन आएका थिए ।
उनीहरुको बुधबार ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गर्दा शंकास्पद देखिएको थियो । उनीहरुलाई तत्कालै भरतपुर अस्पताल ल्याइएको थियो । बिहीबार उनीहरुको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा राती पोजिटिभ नतिजा आएको थियो । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षण गर्दा दुई जनाकै कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनको क्याविन कक्षमा राखिएको छ ।
























