Breaking News
चितवनमा प्रशासन र भरतपुर महानगरको आदेश बाझियो, व्यवसायी अन्यौलमा

चितवन, वैशाख ४–
आज (बिहीबार) दिउँसो भरतपुर महानगरपालिकाबाट यो प्रेस विज्ञप्ती सार्वजनिक भयो । महानगर प्रवक्ता अरुणपीडित भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा अत्यावश्यक पसल संचालन बारे समय तालिका निर्देश गरिएको थियो । जस अनुसार महानगरमा विहान ६ देखि ८ बजे र बेलुका ५ देखि ७ बजेसम्म मात्रै अत्यावश्यक पसलहरु संचालन गर्न पाइने उल्लेख छ ।
त्यसो नगरिए कारवाही गरिने चेतावनी समेत दिइएको छ । तर आज नै अपरान्ह जिल्ला प्रशासन कार्यालयबाट फरक आदेश आयो । जसमा विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै पसल संचालन गर्न पाइने आदेश छ । यसरी एउटै जिल्ला भित्र फरक फरक आदेश आउँदा व्यवसायीहरु अन्यौलमा परेका छन् ।
किराना व्यवसायी संघ चितवनका अध्यक्ष रविन्द्र श्रेष्ठले दुई वटा विज्ञप्तीमा फरक फरक समय तोकेर आउँदा व्यवसायी अन्यौलमा परेको बताए । उनले भने–‘प्रशासनको एउटा आदेश छ भने महानगरको अर्को आदेश, अब कसको आदेश मानेर पसल खोल्ने हो ? हामी अन्यौलमा छौं ।’
























