Breaking News
वीरगञ्जमा भेटिएका तीन जना कोरोना संक्रमितहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु

काठमाडौं, चैत ३०–
वीरगञ्जमा तीन जना भारतीयमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक फेसबुक मार्फत कोरोना संक्रमण भेटिएका वर्ष ३७, ५५ र ४४ वर्षका पुरुषहरुको संसर्ग र निजहरु गएको स्थान पहिचान गरी ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने कार्य सुरु गरिएको जनाएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२ छपकैयास्थित मस्जिदमा शंकास्पदरुपमा रहेका २१ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको थियो । उनीहरुको थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडाको ल्याबमा परीक्षण गरिएको थियो ।
सो क्रममा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि पुनः एकिन गर्न हिजो (शनिबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पनि पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा यो संगै कोरोना संक्रमितको संख्या १२ पुगेको छ । संक्रमित तीनैजना भारतीय नागरिकहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
























