Breaking News
सरकारको कामप्रति प्रचण्डको असन्तुष्टि, भने – कोरोना रोकथामका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्छ

काठमाडौं, चैत २८-
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न राजनीतिक संयन्त्र बनाउन प्रस्ताव गरेका छन् ।
बिहीबार इमेज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले सबै राजनीतिक दल रहेको संयन्त्र बनाउनुपर्ने बताएका हुन् । उनले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने कुरा पार्टी सचिवालय बैठकमा समेत राखेको बताए ।
‘मैले यो कुरा प्रधानमन्त्री र पार्टीको सचिवालय बैठकमा पनि राखेको छु,’ प्रचण्डले भने, ‘सत्तापक्ष, प्रतिपक्ष र महत्वपूर्ण व्यक्ति रहेको संरचना नै बनाएर यसको मुकाबिला गर्नेतर्फ जानुपर्छ ।’
प्रचण्डले त्यस खालको संरचनाले जनतामा विश्वास पैदा गर्ने आफूलाई लागेको पनि बताएका छन् ।
२०७२ सालमा संविधान घोषणा हुनुअघिसम्म नेपालका महत्वपूर्ण निर्णय दलहरुबीचको राजनीतिक सहमति हुने र त्यसलाई निर्देशित गर्न सर्वदलीय संयन्त्र बन्ने गरेको थियो।
अहिले प्रमुख प्रतिपक्षी दलले समेत सरकारलाई कोभिड १९ विरुद्धको लडाइमा जुनसुकै सहयोग गर्ने प्रतिबद्धता जनाउँदै त्यसैअनुुसार काम गरिरहेको अवस्थामा दाहालले राजनीतिक संयन्त्रको आवश्यकता औंल्याएका हुन् ।
नेपालमा लक डाउन तेस्रो हप्तामा चलिरहँदा आफ्नै पार्टीको नेतृत्वको सरकारले गरेको कामप्रति घुमाउरो ढंगले असन्तुष्टि व्यक्त गर्दै राजनीतिक संयन्त्र बनाउन प्रस्ताव गरेका छन् ।
























