Breaking News
भारतमा संक्रमित बढेसँगै सीमामा सशस्त्रको ८ सय चेकपोस्ट थप

काठमाडौं, चैत २७-
सशस्त्रले जनशक्तिसँगै सीमा नाकामा चेकपोस्ट पनि थप गरेको छ ।
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीमा नाकामा कडाइ गर्न सशस्त्र प्रहरीले जनशक्ति बढाएको छ ।
भारतसँग सिमाना जोडिएका जिल्लामा थप २२ सय ८० जना जनशक्ति थप गरिएको सशस्त्र प्रहरीका नायब महानिरीक्षक प्रविन श्रेष्ठले बताएका छन् ।
यसअघि भारतीय सीमामा सशस्त्रका १ सय २० वटा मात्रै चेकपोस्ट रहेकोमा ८ सय ५ वटा अस्थायी चेकपोस्ट थप गरिएको छ । अब सीमानामा सशस्त्रका मात्रै ९ सय २५ वटा चेकपोस्ट पुगेको स्रोतले जनाएको छ । काठमाडौंबाट थप जनशक्ति पठाएसँगै करिब साढे पाँच हजार सशस्त्र सीमामा खटिएका छन् ।
भारतमा जोखिम बढ्दै गएको र नेपाल सुरक्षित देखिएकाले भारतबाट नेपाल आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै सीमामा कडाइ गरिएको हो ।
जोखिम बढ्दै गए थप जनशक्ति पठाउने र चेकपोस्ट पनि अझै थपिने जानकारी छ ।
























