चितवन विशेष

रत्ननगरमा औपचारिक रुपमा राहत वितरण सुरु

Banner

चितवन, चैत २६–

पूर्वीचितवनको रत्ननगर नगरपालिकाले औपचारिक रुपमा आज (बुधबार)देखि राहत वितरण सुरु गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका अति विपन्न वर्गलाई राहत वितरण सुरु गरिएको नगर प्रमुख नारायण वनले जानकारी दिए । राहत वितरण पूर्व सो नगरपालिकाले ज्याला मजदुरी गरेर जिविका चलाउने अति विपन्नहरुको विवरण संकलन गरेको थियो ।

सो नगरपालिकामा रहेका १६ वटा वडाका ज्याला मजदुरी गरेर पारिवार पाल्दै आएका अति विपन्न परिवारलाई राहत वितरण गरिने नगर प्रमुख वनले बताए । परिवार संख्याका आधारमा पाँच किलोदेखि २५ किलो चमल, एक किलो दाल, एक लिटर तेल, एक किलो नुन र हात धुने साबुन वितरण गर्ने निर्णय नगरपालिकाले गरेको थियो । रत्ननगर नगरपालिका वडा नं ३ मा मेयर वनले राहत हस्तान्तरण गरी वितरणको औपचारिक सुरुवात गरेका थिए ।

बुधबार नै वडा नं १४ का अति विपन्न परिवारलाई पनि राहत वितरण गरिएको छ । राहत वितरणको औपचारिक सुरुवातसंगै आगामी दिनमा अन्य वडाहरुमा पनि राहत वितरण गरिने छ । सो नगरपालिकाले राहत वितरणमा एकद्धार प्रणाली अवलम्बन गरेको छ । नगरभित्रका ज्याला मजदुरी गरेर जिविका चलाउने परिवारले स्थानीय सरकारले नै राहत वितरण गर्ने गरी एकद्धार प्रणाली लागू गरिएको नगर प्रमुख वनले बताए ।

सामाजिक संघसंस्थाहरुले राहत वितरण गर्दा एउटै परिवारले पटकपटक पाउने र कसैले पाउदै नपाउने विगतले देखाएको भन्दै वनले नदोहोरिउन र कोही नछुटिउन भन्नका लागि एकद्धार प्रणाली अलम्बन गरिएको हो । नगरपालिकाले राहत वितरणमा एकद्धार प्रणाली लागु गरेपछि निजी क्षेत्र र सामाजिक संघसंस्थाहरुले नगरपालिकालाई राहत हस्तान्तरण गरिरहेका छन् । सो नगरपालिकाको कार्यपालिका बैठकले राहत वितरणका लागि प्रत्येक वडालाई तीन तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको उपप्रमुख विमला दुवाडीले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>