Breaking News
चितवनमा लकडाउनमा थप कडाइ गरिने, भारतीय गाडीबाट तरकारी उतार्न नदिने

चितवन, चैत २५–
जिल्ला विपद् व्यवस्थापन समिति चितवनले लकडाउनलाई थप कडा पार्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको अध्यक्षतामा आज (मंगलबार) बसेको बैठकले विभिन्न निर्णयहरु गर्दै लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको हो ।
यस्तो छ जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयहरुः
१. कोभिड १९ को रोकथाम नियन्त्रणका लागि नेपाल सरकारको निर्णय अनुसार हाल संचालनमा रहको आवागमन नियन्त्रण (lock down) कार्यको कार्यान्वयन अवस्थाको बारेमा जिल्ला भित्रको वस्तुस्थिति समिक्षा गरियो । आवागमन नियन्त्रण कार्यक्रम समग्रमा संतोषकन रहेको निश्कर्ष निकाल्दै यसको थप प्रभावकारिताका लागि लुकिछिपी यात्रा गरेर जिल्ला प्रवेश गर्ने व्यक्तिहरु उपर निगरानी गर्ने, चर्च मस्जिद गुम्बा तथा मन्दिरमा हुन सक्ने जमघट, तरकारी बजारहरु, नारायणी नदी तथा राप्ती नदीमा पौडिखेल्न सकिने स्थानहरु, इटाभट्टा र ठुला उद्योगहरु, भित्रि वस्तीका चियापसलमा मानिसहरुको जमघट हुन सक्ने भएकोले त्यस्ता स्थानहरुमा स्थानीय बासिन्दाहरु समेतबाट थप निगरानी गर्ने ।
२. इट्टा उद्योग, विकास निर्माण आयोजनाहरु तथा अत्यावश्यक उपभोगका खाद्य वस्तु उत्पादन गर्ने उद्योगहरुले कोभिड १९ नियन्त्रण तथा रोकथाम सम्बन्धी मापदन्डको पूर्ण पालना गरेको र कामदारहरुको ओहोर दोहोर रोकेको अवस्थामा संचालन गर्न दिने नीति रहेकोमा त्यस्ता उद्योगहरुले सो मापदन्ड पालना गरे नगरेको नियमित अनुगमन गर्ने र मापदन्ड पालना नगरेको पाइएमा तत्काल पालना गर्न वा बन्द गर्न लगाउने ।
३. नेपाल सरकारले एक स्थानीय तहबाट स्थानीय तहमा समेत आवागमन नियन्त्रण गर्ने निर्णय गरेको सन्दर्भमा हरेक स्थानीय तहले स्वंसेवकहरु खटाई प्रहरीसंगको सहकार्यमा आफ्नो स्थानीय तहमा प्रवेश गर्ने नाकाहरुमा निगरानी गर्ने र अन्यत्रबाट आउने मानिसहरुलाई संभव भए सम्म फर्काउने तथा प्रवेश गर्नुपर्ने भए क्वारेन्टाइनमा बस्नेगरी आवश्यक व्यवस्था मिलाउने । मालबाहक सवारी साधनहरुलाई अवरोध नगर्ने तर आफ्नो स्थानीय तहको क्षेत्र भित्र माल समान लोड अनलोड गर्ने भए स्वास्थ्य सम्बन्धी सतर्कता अपनाउन अनिबार्य गर्ने ।
४.जिल्लाभर होम क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या ६२१ जना रहेको छ । त्यसमध्ये क्वारेन्टाइमा बसेको अवधि १७ दिन पूरा गरेका मानिसहरुको संख्या ४७६ जना रहेका छन् । क्वारेन्टाइन अवधि पूरा गरेका मानिसहरुलाई स्वास्थ अवस्था जाँच गर्ने र स्वास्थ्य अवस्था सामान्य रहेका मानिसहरुलाई क्वारेन्टाइनबाट मुक्त गर्ने गरी स्वास्थ्यकर्मी सहित जनप्रतिनिधि र सुरक्षाकर्मी परिचालन कार्यलाई थप प्रभावकारी बनाई निरन्तरता दिने ।
५. होम क्वारेन्टाइनमा बसेका मानिसहरुले क्वारेनटाइनमा बस्दा पालना गर्नेपर्ने नियमहरु पालना गरे नगरेको बारे हाल स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरुबाट अनुगमन भइरहेकोमा सो कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय स्तरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि सम्मिलित टोली निर्माण गरी परिचालन गर्ने ।
६.चितवनमा कोभिड १९ को परीक्षणका लागि ल्याब स्थापना भएकोमा सो ल्याब स्थापनामा सहयोग गर्ने स्वास्थ्य मन्त्रालयको र सो मन्त्रालयबाट खटिएका विज्ञहरु, भरतपुर महानगरपालिका तथा सो कार्यमा सहयोग गर्ने सबै प्रति धन्यवाद व्यक्त गर्दै हाल भरतपुर अस्पतालले संचालन गरिरहेको सो ल्याबको प्रभावकारी रुपमा संचालनका लागि सबै क्षेत्रबाट आवश्यक सहयोग गर्ने ।
७. जिल्लामा संचालनमा रहेका एम्बुलेन्सहरु तयारी अवस्थामा रहन लगाउने । सबै स्थानीय तह र वडा कार्यालयहरुबाट आफ्नो क्षेत्रका लागि संचालनको अनुमति पाएका एम्बुलेन्सहरु तयारी अवस्था (चालु अवस्थामा) रहे नरहेको अनुगमन गर्न र तोकिएको स्थानमा नरहेको वा बिग्रेको अवस्थामा थन्किएर बसेको पाइएमा तत्काल चालु अवस्थामा राख्न लगाउने । एम्बुलेन्स संचालन गर्ने संस्थाहरुलाई आफ्ना एम्बुलेन्सहरुलाई कोभिड १९ मैत्री एम्बुलेन्स (Covid 19 friendly ambulance) मा परिणत गर्न प्रोत्साहन गर्ने ।
८. आवागमन नियन्त्रणका कारण बेरोजगार बनेका असंगठित क्षेत्रका कामदार र असहाय व्यक्तिहरुलाई दैनिक अत्यावश्यक आवश्यकता पूरा गर्न स्थानीय तहमार्फत वितरण भइरहेको राहतलाई वास्तविक प्रभावितले मात्र पाउने गरी थप व्यवस्थित बनाउने । राहत सम्बन्धित स्थानीय तह÷वडा कार्यालय मार्फत मात्र राहत दिने । विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सोझै राहत वितरण गर्ने कार्यलाई पूर्ण रुपमा रोक लगाउने । राहत वितरण गर्दा भिडभाड हुन नदिने गरी व्यवस्था मिलाउने, सकभर टोल टोलमा पुर्याई वितरण गर्ने ।
९. शंकास्पद व्यक्तिहरुको नमूना (Swab) संकलन गरी पठाउन प्रयोग हुने भाइरल ट्रान्सपोर्ट मिडिया हाल दैनिक सरदर ३ ओटाका दरले प्राप्त भएको र जिल्लाको अहिलेको आवश्यकता हेर्दा दैनिक सरदर १५ ओटा आवश्यक देखिएकोले सो उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालय (राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा) अनुरोध गर्ने ।
१०. जिल्लामा तरकारी र फलफूल बोकेका विदेशी नम्बर प्लेट भएका सवारी साधनहरु रातको समयमा आउने र आफूखुशि मालसमान उतार्ने कार्य गरी फर्कने गरेको र त्यसरी सामान उतार्दा अपानाउनुपर्ने सावधानी पनि नअपनाएको भनि तरकारी बजार व्यवस्थापन समितिबाट समेत गुनासो आउने गरेकोले यस जिल्ला भएर अन्य जिल्ला जाने त्यस्ता सवारी साधन निर्बाध रुपमा चल्न दिई यस जिल्लामा त्यस्ता सामानहरु उतार्न नदिने गरी आवश्यक प्रबन्ध मिलाउने ।
११. जिल्लामा रहेका तरकारी बजारहरु (सब्जी मन्डिहरु) मा मानिसहरुको भिडभाड हुन गई रोगको संक्रमण फैलिन सक्ने जोखिम रहेको भनि तत–तत क्षेत्रका स्थानीयहरुबाट सब्जी मन्डि बन्द गरिदिन बारम्बार अनुरोध आउने गरेका कारण जनस्वास्थ्यमा पर्न सक्ने प्रभावलाई मध्य नजर गरी सम्बन्धित बजार व्यवस्थापन समितिले बन्द गर्न चाहेका तरकारी बजार (सब्जी मन्डिहरु) बन्द गर्न दिने र थोक विक्रेताले सिधै स्थानीय स्तरसम्म सवारी साधन पुर्याई खुद्रा विक्रेता वा उपभोक्ता सम्म पुर्याउने गरी आवश्यक व्यवस्था गर्न लगाउने ।
























