Breaking News

चितवनमा शनिबार बेलुकासम्म ल्याब तयार हुने, आइतबारदेखि कोरोना परीक्षण

Banner

चितवन, चैत २२–

चितवनमा आज (शनिबार) बेलुकासम्ममा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको लागि प्रयोगशा (ल्याब) तयार हुने भएको छ । भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरस परीक्षणका लागि छुट्टै ल्याब तयार हुन लागेको हो । शुक्रबार विहानैदेखि सुरु भएको सुरु भएको ल्याब निर्माणको कार्य आज (शनिबार) बेलुकासम्ममा तयार हुने बताइएको छ ।

ल्याब निर्माणको नेतृत्व गरिरहेका प्रयोगशाला निर्माण उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने–‘शनिबारदेखि नै पूर्णरुपमा ल्याब संचालनमा तयारी जुटेका थियौं, तर प्राविधिक परीक्षणको काम पुरा भइसकेको छैन, आइतबारबाट सुरु गर्छौ ।’ ल्याबका लागि चाहिने लगभग सबैजसो उपकरणहरु आइसकेको छ । ‘केही उपकरण आउन छुटेछ, यहाँ उपलब्ध सामग्रीहरु व्यवस्थापन गरिरहेका छौं, शनिबार बेलुकासम्म लगभग तयार गर्छौ’–डा.शर्माले भने ।

भरतपुर महानगरपालिकाको अग्रसरतामा स्वास्थ्य मन्त्रालयले ल्याब संचालनमा ल्याउन लागेको हो । प्रयोगशालामा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. मदन पाण्डे र चितवन मेडिकल कलेजका डा. ब्रजेश झाको नेतृत्वले प्रयोगशाला सम्हाल्ने छ । यो ल्याब भरतपुर अस्पतालको स्वामित्वमा रहने छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले प्रयोगशाला निर्माणपश्चात चितवनको नमुना परीक्षण रिपोर्ट छिटो आउने भएकाले उपचारमा थप सहजता हुने बताइन् । उनले भने–‘शनिबारबाटै परीक्षणको तयारी थियौं, तर प्राविधिक काम भएकाले आइतबारबाट प्रयोगशाला संचालनमा ल्याउने तयारीमा छौं ।’

यस प्रयोगशालामा कृषि तथा वन विज्ञान विश्वविद्यालयको ल्याबमा रहेको आरटी पिसिआर मेसिन ल्याइएको छ । एउटा यस्तै मेसिन राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा समेत रहेको छ । धेरैजसो सामग्रीहरु चितवनमै जुटाइएको छ । किटलगायत अन्य सामग्रीहरु भने स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको छ ।

विश्वभर कोरोना भाइरस माहामारीको रुपमा फैलिन थालेपछि महानगरकै पहलमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल समेत सञ्चालनमा ल्याएको छ । सो अस्पताल, भरतपुर अस्पताल र निजी मेडिकल कलेजबाट दिनहुँजसो कोरोनाको आशंकामा बिरामीको नमूना केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बुधबार चितवन आएर बिहीबार दिनभर प्रयोगशाला स्थापनाका लागि उपयुक्त स्थानको अध्ययनमा खटिएको थियो । सोही प्राविधिक टोलीेले रामपुरको ल्याब र पंक्षीरोग अन्वेषण प्रयोगशालाको अनुगमन पश्चात पंक्षीरोग अन्वेषण प्रयोगशालामै ल्याब स्थापना गर्न सुझाव दिएको थियो । अहिले प्राविधिक टोलीले नै ल्याब स्थापनाका लागि सहयोग गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>