Breaking News
कोरोनाले अमेरिकामा एकै दिन १४ सय भन्दा बढीको मृत्यु

एजेन्सी,चैत २२-
कोरोना भाइरसको विश्वव्यापी महामारीको हालको इपिसेन्टर अमेरिकामा संक्रमण तथा कोभिड–१९ का कारण हुने मृत्यु लगातार बढ्दो क्रममा छ ।
संक्रमण तथा कोभिड–१९ का कारण हुने मृत्यु शुक्रबार नयाँ उचाईमा पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार एकै दिन अमेरिकामा कम्तिमा १४ सय २३ जनाको मृत्यु भएको छ ।कोरोना भाइरसको संक्रमणका कारण कुनै पनि देशमा एकै दिन भएको यो सबैभन्दा ठूलो संख्याको हताहती हो ।
यसअघि बिहीबार अमेरिकामा एकै दिन ११ सय ६९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । अमेरिकामा हालसम्म कुल मृत्यु हुनेको संख्या सात हजार ४०६ पुगेको छ ।
यस्तै शुक्रबार एकै दिन अमेरिकामा ३२ हजार २८४ भन्दा बढीमा नयाँ संक्रमण देखिएको छ । योसँगै अमेरिकामा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार १६१ भन्दा बढी भएको छ ।
अमेरिकामा सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्क सिटीमा कुल संक्रमतिको संख्या ५६ हजार २८९ छ । यसमा शुक्रबार थपिएका ६ हजार ५८२ हुन् । यस्तै न्यूर्योकमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या १८ सय ६७ रहेको छ । यसमा शुक्रबार थपिएका ३०५ हुन् ।
कोरोना भाइरसबाट विश्वभर अहिलेसम्म १० लाख ९८ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । यस्तै मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ ।
























