Breaking News

कोरोना नमुना परीक्षण प्रयोगशाला चितवनमै बन्ने पक्का, प्राविधिक टोली बुधबार आउँदै

Banner

चितवन, चैत १८–

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण प्रयोगशाला (ल्याब) चितवनमा बन्ने भएको छ ।

प्रयोगशाला कहाँ बनाउने भन्ने बारेमा भोलि (बुधबार) स्वास्थ्य मन्त्रालयको टोलीले निरीक्षण गर्ने कोरोना रोग विरुद्ध जिल्ला समन्वय समितिका संयोजक तथा वागमती प्रदेशका सांसद विजय सुवेदीले नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार प्रयोगशाला चितवनमै बन्ने भएको छ । सोही अनुरुप नै निरीक्षणका लागि स्वास्थ्य मन्त्रीका सल्लाहकार खेम कार्कीसहित प्राविधिक टोली चितवन लागेको संयोजक सुवेदीले जानकारी दिए ।

चितवनमै प्रयोगशाला बन्ने पक्का भएपछि आज (मंगलबार) जिल्लाको संभावित स्थानहरुको निरीक्षण गरिएको छ । भरतपुर महानगरपालिकाको नेतृत्वमा पशुपंक्षी प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशाला, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशाला आज निरीक्षण गरिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । उनले नारायणी अनलाइनसंग भनिन्–‘चितवनमा शतप्रतिशत कोरोना परीक्षण प्रयोगशाला बन्ने निश्चित भएको छ, सोही अनुरुप प्राविधिक टोली चितवन आउन लागेको हो ।’ नगर प्रमुख दाहालले प्राविधिक टोलीको निरीक्षण पश्चात तुरुन्तै प्रयोगशाला स्थापना गरिने जानकारी दिए ।

सरकारले प्रादेशिक प्रयोगशाला हेटौंडामा बनाउने तयारी थालेपछि चितवनमै प्रयोगशाला निर्माण हुनुपर्ने आवाज उठ्दै आएको थियो । मेडिकल सिटीको रुपमा परिचित चितवन हरेक तवरले प्रयोगशाला स्थापना गर्ने उचित ठाउँ रहेको तर्कहरु प्रस्तुत हुँदै आइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>