चितवन विशेष
नगरपालिकालाई राहत सामग्री हन्तान्तरण

चितवन, चैत १८–
रत्ननगरमा रहेको नवदुर्गा आमा समूह र सो आमा समूहमा आबद्ध अग्रज महिलाहरुले आर्थिक संकलन गरी रत्ननगर नगरपालिकालाई राहत सामग्री हस्तान्तरण गरेका छन् ।
सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारलाई वितरण गर्ने गरी सो आमा समूहले नगरपालिकाले खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । ३० बोरा चामल, ३ बोरा दाल, ३ कार्टुन तेल, नुन ५० किलो र १४० पिस हातधुने साबुन नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नबदुर्गा आमा समूहकी अध्यक्ष एन्जिला कुवँरले रत्ननगरका नगर प्रमुख नारायण वनलाई सो सामग्री हस्तान्तरण गरेकी थिइन् ।
अध्यक्ष कुवँरले स्थानीय सरकारले वितरण गर्दा वास्तविक विपन्न वर्गले पाउने भएकाले नगरपालिकालाई सामग्री हस्तान्तरण गरिएको बताइन् । ज्याला मजदुरी गरेर परिवार पाल्ने परिवारलाई आफूले प्रदान गरेको सामग्री पाउन भन्ने अपेक्षा रहेको उनले बताइन् । उनले २० बोरा चामल नबदुर्गा आमा समूहले र अन्य सामग्री अध्यक्ष सहित अन्य पदाधिकारी तथा सदस्यहरुबाट संकलित रकमले खरिद गरेको जानकारी दिइन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख वनले रत्ननगरका अगुवा महिलाहरुले प्रदान गरेको खाद्य सामग्रीहरु वास्तविक सुकुमबासी र अति विपन्न परिवारलाई वितरण गरिने बताए । खाद्यान्न सामग्री खरिदको लागि नवदुर्गा आमा समूहकी अध्यक्ष एन्जिला कुवँरले १२ हजार ४००, मन्जु पाण्डेले २ हजार, नारायणीदेवी रेग्मी १५ सय, विष्णु अधिकारीले १३ सय, हेमा पुरीले १३ सय, कोपिला अधिकारीले १३ सय, चन्द्रिका महत केसी १३ सय, शान्ति लामिछाने १३ सय, शुशीला चौधरी खाँडले १३ सय, संगीता खनालले १३ सय, सन्तोषी राई चौधरी १३ सय, इन्दिरा देवी चौधरी १३ सय रुपैयाँ प्रदान गरेका थिए ।
स्थानीय सरकारलाई राहत प्रदान गर्ने नवदुर्गा आमा समूह पहिलो संस्था हो । हस्तान्तरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेल, सिनियर अहेब अधिकृत श्याम शर्मा, पशु विकास अधिकृत शालिकराम पौडेल लगायतको सहभागिता रहेको थियो ।
























