Breaking News
अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई दिनमा दोब्बर

एजेन्सी,चैत १६-
अमेरिकामा कोरोना भाइरसका कारण हुने कोभिडि–१९ बाट ज्यान गुमाउनेको संख्या पछिल्लो दुई दिनमै दोब्बर भएको छ । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण दुई हजार २११ जनाको मृत्यु भएको छ ।शनिबार बेलुका अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्याले दुई हजारको आँकडा पार गरेको हो।
अमेरिकामा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि भएदेखि मृत्यु हुनेको संख्या एक हजार पुग्न एक महिना लागेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै वासिङ्गटनपोस्टले उल्लेख गरेको छ ।
तर पछिल्लो दुई दिनमै ज्यान गुमाउनेको संख्या दोब्बर भन्दा बढीले बढेको हो । पछिल्लो केही दिनयता अमेरिकामा संक्रमण दर अत्याधिक तीव्र गतिमा बढेको छ र मृत्यु हुनेको संख्या पनि लगातार बढ्ने क्रम जारी छ । स्वास्थ्य अधिकारीले यो भन्दा खराब अवस्था आउन बाँकी नै रहेको भन्दै चेतावनी दिएका छन् ।
























