Breaking News
कोरोनाविरुद्ध प्रचण्डको भिडियो सन्देश : घरमै बसौं, आचारसंहिता पालना गरौं

काठमाडौं, चैत १५-
पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन थप सावधानी अपनाउन आग्रह गरेका छन् ।
प्रचण्डले घरभित्रै बसेर कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको लडाईं जित्न सरकारलाई साथ दिन आह्वान गरेका छन् । शनिबार प्रचण्डले भिडियो सन्देशमार्फत् जनतालाई घरमै बस्न र सुरक्षित रहन आग्रह गरेका हुन् ।
एक भिडियो सन्देश गर्दै अध्यक्ष प्रचण्डले सिंगो विश्व नै यस घातक भाइरसबाट बच्नका लागि संघर्षरत रहेको उल्लेख गर्दै उनले विश्व समुदायसँगै नेपाली जनताले अपनाएको सजगताप्रति धन्यवादसमेत दिएका छन् ।
उनले सरकारले गरेको लकडाउनलाई पालना गर्न र घरबाहिर ननिस्कन सर्वसाधरणलाई अपिल समेत गरेका छन्।
‘कोरोनाबाट बच्नका लागि साबुन पानीले हात धुने, सेनिटाइजनरको प्रयोग गर्ने, हात नमिलाउने, खोक्दा रुमालको प्रयोग गर्ने, आवश्यकता अनुसार मास्क प्रयोग गर्ने र सरकारले गरेको लकडाउनलाई पालना गर्दै घरबाट बाहिर ननिस्कन र अनुशासनमा रहन आम जनुसमुदायसँग अनुरोघ गर्दछु’, भिडियो सन्देशमा प्रचण्डले भनेका छन्।
प्रचण्डले दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्ने जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक सहयोग र राहत प्याकेजमा सरकारको ध्यान जाने विश्वास समेत व्यक्त गरेका छन् ।
उनले आधिकारिक सूचनाले मात्रै जोखिमबाट जोगिन सकिने भन्दै सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्न र सञ्चार माध्यमलाई पनि आधिकारिक सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन् ।
























