Breaking News
लकडाउनको पाँचौ दिन,सुनसान छ चितवन

चितवन,चैत १५-
‘लकडाउन’को पाँचौ दिन शनिवार पनि चितवनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका गाडीमात्र चलिरहेका छन् । अरु गाडी भने चलाउन रोक लगाइएको छ । नारायणगढ र भरतपुरको क्षेत्र सुनसान छ । भित्री सडकखण्डमा पनि मानिसको आवतजावत छैन ।
गएको मङ्गलबारदेखि आउँदो मङ्गलबारसम्म देशभर लकडाउनको घोषणा गरेकाले अति आवश्यक नपरि घरबाहिर ननिस्कन पनि सरकारले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयको अनुमति बिना चलेका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर बेलुकीमात्रै छोड्ने गरेको छ । शनिवारसम्म लकडाउन उलंघन गर्ने ७५ जनालाई चितवन प्रहरीले कारवाही गरिसकेको छ ।

कोरोना सङ्क्रमण रोकथामको लागि लकडाउन गरिएकाले पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ । कोरोना भाइरस (कोभिड १९) एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सिङ्गो घरपरिवार र आफन्तको लागि लकडाउन पालना गर्न सरकारले आग्रह गर्दै आएको छ ।
























