Breaking News
कोरोना कहर : बिना सुरक्षा सावधानी

काठमाडौं, चैत १३ –
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको आह्वान छ— कोरोना भाइरस संक्रमति व्यक्तिहरु जो जहाँ छौँ, आफ्नो ठाउँ नछोडौँ, स्वास्थ्य मन्त्रालय र डब्ल्युएचओले तोकेको मर्यादा सबैले पालना गरौँ ।
नेपालमा हाल कोरोना भाइरस संक्रमित दुई जना बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आइसोलेसनमा छन् । ती दुवै जना विदेशबाट आएका हुन् ।
उनीहरुसँगै विमानमा आएका यात्रुमध्ये केही सम्पर्कमा आएका छन् । बाँकीलाई जतिसक्दो चाँडो सम्पर्कमा आउन आह्वान गरेको छ । तेस्रो संक्रमति युवा काठमाडौंमा होटलमा बसेका थिए ।
बितेको करिब एक सातामा पाँच लाख नेपाली नागरिकहरु भारतबाट आए । यी नागरिकहरु गाउँ गाउँमा पुगेका छन् । यीमध्ये कति क्वारेन्टिनमा छन् र कति खुला हिँडेका छन्, जानकारी छैन । एक व्यक्तिबाट अर्कोमा सर्ने संक्रामक रोगको नियन्त्रणको मुख्य उपाय सर्ने क्रम तोड्नु हो । यही उपाय हो लकडाउन र स्वयम् क्वारेन्टिन ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो ट्विट गर्दै सबैलाई घरमै बस्न आग्रह गरे। सँगै भने – म पनि घरमै बसेर सरकार चलाइरहेको छु ।
छिमेकी भारत लगायत अन्य देशबाट आएका नागरिकहरु तोकिएअनुसार स्वयम क्वारेन्टिनमा बसेका छन् कि छैनन् भन्ने चिन्ता सरकारमा देखिएको छ ।
बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भारत तथा अन्य देशबाट गाउँघर फर्केकाहरुलाई क्वारेन्टिनमा बस्न आग्रह गरे । उनले अहिले उपचारमा रहेका दुई जना संक्रमितसँग यात्रा गरेर फ्रान्स र कतारबाट आएका यात्रुहरुलाई सम्पर्कमा आउन आह्वान गरेका छन् ।
त्यस्तै, सुरक्षाकर्मी सुख्खा चाउचाउ खाँदै सडकमा खटिएका छन् । तिनीहरुसँग मास्क र स्यानिटाइजरसमेत देखिन्न ।
मास्क लगाएपनि उक्त मास्क न एन ९५ मास्क थियो न त सर्जिकल मास्क नै । सामान्य कपडाको मास्क थियो, जसले पर्याप्त सुरक्षा अपनाउन सक्दैन । त्यहाँ आउने बिरामीहरुलाई आवश्यक पर्दा गाडीबाट ओराल्नुपर्ने र वेडसम्म लैजानुपर्ने पनि हुनसक्छ । यस्तो अवस्थामा सबैभन्दा बढी खतरा ती प्रहरी कर्मचारीलाई नै हुन्छ ।
महत्वपूर्ण शल्यक्रिया नगर्दै विरामीहरुलाई अस्पतालबाट घरतिर पठाउन परेको छ । अस्पताल रित्याएर कोरोनाको कहरको प्रतीक्षा गर्नु कम भयपूर्ण अवस्था होइन ।
त्यसमाथि चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पीपीईको अभाव छ । कोरोनाको उपचारमा खटिएका चिकित्सकहरु नै विभिन्न देशमा संक्रमित भएको र ज्यान समेत गुमाएको समाचारबारे जानकार छन् । त्यसले उनीहरुमाथि थप भय उत्पन्न भएको छ ।
























