Breaking News
मनकारी ज्याक माको कोरोना महाविपत्तिमा महादान : विश्वभरी स्वास्थ्य सामग्री पठाउँदै

काठमाडौं, चैत ११-
शनिबार चिनियाँ अर्बपति एवं अलिबाबाका संस्थापक ज्याकमाले नेपाल लगायत एशियाका विभिन्न मुलुकहरुमा १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार सुरक्षित पोसाक, भेन्टिलेटर र थर्मोमिटर सहयोग गर्ने घोषणा गरे ।
कोरोना भाइरसको महामारीका बेला पनि लोभ त्याग्न नसकेको भन्दै संसारभरका धनीमानीको आलोचना भइरहेको छ । तर, चिनियाँ अर्बपति ज्याक मा भने मनकारी कर्मका कारण वाहवाही बटुलिरहेका छन्।
उनले स्थापना गरेको ज्याक मा फाउन्डेसनले हरेक दिन संसारका विभिन्न मुलुकलाई सहयोगको प्याकेज घोषणा गरिरहेको छ ।
सो फाउन्डेसनले आइतबार मात्र २४ ल्याटिन अमेरिकी देशलाई सहयोग पठाएको छ । ‘वान वर्ल्ड, वान फाइट’ भन्ने सन्देशसहित फाउन्डेसनले २४ देशलाई २० लाख मास्क, ४० लाख टेस्ट किट, १ सय ४ भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री पठाएको हो ।
ती सामग्री अर्जेन्टिना, ब्राजिल, चिली, क्युबा, इक्वेडर, डोमिनिकन रिपब्लिक र पेरु लगायतका देशलाई सहयोग गरेको फाउन्डेसनले उल्लेख गरेको छ ।
‘हामी लामो जलयात्रा गरेर सामान पठाउँदै छौँ, हामी हतारमा छौँ, हामी एक हौँ,’ फाउन्डेसनले ट्विटरमा भनेको छ।
शनिबार मात्रै फाउन्डेसनले नेपालसहित एसियाका ९ मुलुकलाई कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेको थियो । यी मुलुकलाई १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार सुरक्षित पोसाक केही भेन्टिलेटर र थर्मोमिटर उपलब्ध गराइने उसको भनाइ छ।
यी सामग्री नेपाल, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यान्मार, पाकिस्तान र श्रीलंकाले पाउने छन्। कुन मुलुकलाई कुन सामग्री कति परिमाणमा प्रदान गरिने भन्ने फाउन्डेसनले उल्लेख गरेको छैन। त्यस्तै, मार्च १८ मा माको फाउन्डेसनले युरोपेली मुलुकलाई सहयोग गरेको थियो ।
ज्याक माको सम्पत्ति २५ बिलियन अमेरिकी डलर रहेको छ । उनको कम्पनी अहिले १५० बिलियन अमेरिकी डलरको आइपीओ भरेको कम्पनी बनेको छ । अलिबाबामा ज्याक माको मात्रै ७ प्रतिशत हिस्सा रहेको छ भने अलि पे मा ५० प्रतिशत हिस्सा रहेको छ ।























