Breaking News
कोरोना संक्रमित युवतीसँगै प्लेनमा काठमाडौँ आउने अन्य यात्रुको खोजी हुँदै

काठमाडौँ, चैत १०-
फ्रान्सबाट काठमाडौँ आएकी एक युवतीमा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै प्लेनमा आउने अन्य यात्रुहरुको पनि खोजी गरिएको छ ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आज स्वास्थ्य मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा सो बारेमा जानकारी गराएका हुन् ।
मन्त्री ढकालले भने, ‘ती युवतीमा कोरोना भाइरस देखिएपछि उनको परिवारलाई पनि सरकारले क्वारेन्टानमा बस्न लगाएको छ । उनी आएको प्लेनमा सँगै आएका अरू यात्रुको खोजी भइरहेको छ ।’ फ्रान्सबाट आएकी कोरोना भाइरसबाट संक्रमित १९ वर्षीया युवतीको दोस्रो पटक पनि परीक्षण गरिने भएको छ। संक्रमित युवती काठमाडौं उपत्यकाकी स्थायी बासिन्दा हुन्।
टेकु अस्पतालका अनुसार उक्त युवतीको दोस्रो परीक्षण हुने भएको हो। संक्रमणको पूर्ण पुष्टि हुन दोस्रो पटक पनि परीक्षण गर्ने गरिन्छ।
कहिलेकाहीँ पहिलो परीक्षणमा ‘पोजेटिभ’ देखिए पनि दोस्रोमा नेगेटिभ देखिने गर्छ। नेगेटिभ देखिने भनेको संक्रमण छैन भनेको हो। गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी ती युवती ‘सेल्फ क्वारेन्टाइनमा’ बसेकी थिइन्। सेल्फ क्वारेन्टाइनमा बसिरहँदा सामान्य सुख्खा खोकी बढेपछि उनले शुक्रबार टेकु अस्पतालमा सम्पर्क गरेकी थिइन। त्यसपछि उनलाई अस्पताल आउन चिकित्सकले सुझाएका थिए। शुक्रबार अस्पताल पुगेकी उनलाई आइसोलेसनमा भर्ना गरियो।
‘हामीले उहाँको स्वाब त्यहीँ दिन प्रयोगशालामा परीक्षणका लागि पठायौं,’ अस्पतालका निर्देशक सागरराज भण्डारीले भने। आइतबार आएको नतिजामा युवतीमा कोरोनाको संक्रमण देखिएको हो।
निर्देशक भण्डारीले अहिले बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको जानकारी दिए। उनले बिरामीलाई छुट्टै कोठामा राखिएको बताए। ‘उहाँमा अहिले थप लक्षण देखिएको छैन। अवस्था सामान्य छ। तर १४ दिन निगरानी राख्छौं,’ उनले भने।