Breaking News

सूचना दिनुहोस्, कालोबजारी गर्नेलाई पाता कस्छौं : मन्त्री भट्ट

Banner

काठमाडौं, चैत ९-

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको अभाव हुन नदिने गरी बन्दोबस्त गरेको स्पष्ट पारेका छन् ।

आइतबार रिपोटर्स क्लब नेपालले गरेको विशेष साक्षात्कारमा उनले आपूर्ति व्यवस्थापनको लागि सरकारले पूरै योजनाबद्ध ढंगले काम गरिरहेको स्पष्ट पारेका हुन् । उनले भने,‘अहिलेको अवस्थामा तत्काल आपूर्ति व्यवस्थापन कसरी गर्ने भन्ने एउटा तयारी छ, अर्को अलिक गम्भीर अवस्था आयो भने कसरी गर्ने र महामारी नै आयो भने कसरी गर्ने भन्ने पनि तयारी छ ।’

साक्षात्कारमा बोल्दै मन्त्री भट्टले बजारमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको अभाव हुन्छ भन्ने मनोवृत्तिले उपभोक्ताले सञ्चितीकरण गर्न थालेकोले केही समस्या उत्पन्न भएको पनि टिप्पणी गरे । उनले भने,‘कतिले चारदेखि ६ वटासम्म सिलिण्डर राख्ने गरेका छन्, कतिले त दुई चार बोरा चामल राख्ने गरेका छन् । यस्तो अवस्थामा कतिपय व्यापारीले पनि मौकाको फाइदा उठाउनलाई कालोबजारी गर्न सक्छन् । हामीले मन्त्रालयको टिमलाई पूरै परिचालन गरेका छौं । कोही पनि कर्मचारी बिदामा नबसी फिल्डमा खटिनुभएको छ ।’

खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीको कुनै अभाव नहोस् र सहज तवरले आपूर्ति व्यवस्थापन गर्नको लागि आफ्नो नेतृत्वमा एक समिति समेत हिजो गठन भएको उनले जनाए । उनले भने,‘त्यो समितिमा तीनवटै सुरक्षा निकायका प्रतिनिधि हुनुहुन्छ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि, चेम्बर अफ कमर्स, सीएआई, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि हुनुहुन्छ । हामी विशेष तयारीका साथ काम गरिरहेका छौं ।’

मन्त्री भट्टले भोलि त्यस्तो अवस्था आए संकटकाल नै घोषणा पनि हुनसक्ने पनि सुनाए । उनले भने,‘सबै कुराको ख्याल गरेर हामीले तयारी गरिरहेका छौं ।’ उनले कोरोनाबारे सबैले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने पनि बताए । उनले भने,‘मिडियाले पोजिटिभ मेसेज दिइरहनुभएको छ । तर, सामाजिक सञ्जालमा कतिपयले नेगटिभ मेसेज पनि दिइरहेका छन् । त्यसलाई कन्ट्रोल गर्नुपर्छ ।’ उनले सबैले आफ्नो तर्फबाट सकारात्मक सुरुवात गर्न खाँचो रहेको पनि औंल्याए । उनले भने,‘हात नियमित धुने, एक मिटर पर बस्ने, टिस्यु पेपर प्रयोग गर्ने, ज्वरो आए र शंकास्पद त्यस्तो केही देखिए नजिकको हस्पिटलमा लैजानुपर्छ । हामीले अहिले जनचेतना बढाउनुपर्छ ।’ उनले अहिले नेपालमा खेतीबारीमा लगाएका उत्पादनहरु भित्रिने पनि समय रहेको सुनाउँदै खाद्यान्नको कुनै अभाव नहुने र आफूहरुसँग पर्याप्त स्टक रहेको पनि सुनाए । उनले भने,‘हामीसँग पर्याप्त मात्रामा स्टक छ । साल्ट ट्रेडिङको गोदाममा गएर हेर्नुहोस् । नेपाल खाद्यमा पनि हेर्न सक्नुहुन्छ । हामीले सुपथ मूल्यका पसलहरु पनि सञ्चालन गर्दैछौं । ३–४ ठाउँबाट ग्याँस पाउँछ ।’

उनले सुरक्षाकर्मीहरु र अस्पतालमा खटिने कर्मचारीको लागि अत्यावश्यक वस्तुको व्यवस्थापन गरिने पनि विश्वास दिलाए । उनले भने,‘हामीले अत्यावश्यक वस्तुको व्यवस्थापन गरेका छौं ।’ उनले हरेक नागरिकले अनुगमन गर्नुपर्ने पनि सुझाव दिए । उनले भने,‘उपभोक्ता ऐन आइसकेको छ । अब सबै नागरिकले कडाइका साथ अनुगमन गर्नुपर्छ ।’

कालोबजारी र अभाव गर्न खोज्नेलाई तीन लाख र हदैसम्मको ५ वर्षसम्मको कैद गरिने उनले स्पष्ट पारे । उनले भने,‘बदमासी गर्न खोज्नेहरुलाई सबैले कारबाही गर्नुपर्छ । त्यस्तो गरेको पाए सूचना दिनुहोस् । हामी कारबाही गर्छौं ।’ उनले सरकारले क्षमताभन्दा बढी नै आपूर्ति व्यवस्था गरेको सुनाए । उनले भने,‘सबैको सहयोग भयो भने हामी आपूर्ति लगायतका समस्या समाधान गर्न सफल हुन्छौं ।’ उनले अत्यावश्यक वस्तु नपाए वाणिज्य विभागमा सूचना दिनसमेत आग्रह गरे । उनले भने,‘११३७ मा फोन गर्नुहोस् । हामी व्यवस्थापन गर्छौं ।’ उनले यो बीचमा ६० देखि ७० लाख राजश्व उठेको सुनाउँदै गलत गर्नेहरुलाई कारबाही गरिएको पनि स्पष्ट पारे ।

उनले सरकारले गलत गर्ने कसैलाई नबचाउने स्पष्ट पारे । उनले भारतबाट ठूलो संख्यामा आवातजावत भएको प्रसंगमा यसबारेमा भारतसँग कुटनीतिक पहल गर्ने विश्वास दिलाए । उनले भने,‘जो जुन मुलुकमा हुनुहुन्छ, त्यहीँ बसौं । देशलाई संकटबाट बचाउँ । यसबारेमा भएको कमजोरीको समीक्षा गर्नुपर्छ । हामी समीक्षा गर्छौं । भारतसँगको सीमा अझै व्यवस्थित् गर्छौं । त्यहाँ सुरक्षा जनशक्ति थप्ने कुरा भएको छ ।’
उनले मास्क अहिले बाहिरबाट पनि आइरहेको र नेपालमा उत्पादन क्षमता पनि बढाएको सुनाए । उनले भने,‘हाम्रो उत्पादन क्षमता कम छ । तर, माग बढी छ । हिजोको दिनमा २५ हजार खपत हुन्थ्यो, अहिले अत्यधिक माग बढेको छ । डिमाण्डअनुसार प्रोडक्सन भएको छैन् । तर, अहिले हामीले क्षमताभन्दा बढी उत्पादन भइरहेको छ ।’

उनले अहिलेको लडाई सबैले एकजुट भएर लड्नुपर्ने बताए । उनले भने,‘सरकारले एकपछि अर्को तयारी गरेको छ । विभिन्न मुलुकले कसरी काम गरिरहेका छन् भन्ने कुरा पनि हामीले हेरेका छौं । विशेष गरी चीनमा कोरोनाविरुद्ध कसरी लडियो भन्ने कुरा पनि हामीले हेरेका छौं । भारतपनि कसरी लडिरहेको छ भन्ने पनि हेरिरहेका छौं । युरोप किन लड्न सकेन ? यी सबै कुरा हेरेर हामीले एकपछि अर्को तयारी र कदम चालेका छौं ।’

उनले अहिले ‘जो जहाँ छौं, त्यहीँ बसेर’ सरकारलाई सहयोग गर्नुपर्ने पनि बताए । उनले आवश्यक पर्दा देशलाई लक डाउन गरेर कोरोनाविरुद्ध लड्नुपर्ने अवस्था भएकोले सबै नेपालीले यसलाई आत्मसात् गर्नुपर्ने पनि स्पष्ट पारे । ‘हिजो भित्रिएको विदेशबाट आएको भीडलाई सरकारले निगरानी गरेको छ । त्यसको कारण पनि खोतल्छौं । अब त्यसरी भीड आउन नदिन सरकार संवेदशनील छ । सीमा नाकामा खटिएका सुरक्षा निकायसँग समन्वय गरिरहेका छौं ।’

उनले यो दुई तीन दिन सुदुरपश्चिम र पुर्वको नाकाबाट आवातजावात बढी नै भएको उल्लेख गरे । उनले भने,‘गड्डाचौकी नाकाबाट ठूलो भीड आएको देखिन्छ । हाम्रो तयारी जुन थियो, त्यहाँ अलिक ठूलो भीड आयो । त्यसले समस्या पैदा ग¥यो । त्यो भीडलाई नियन्त्रण गर्न नसकिएको कुरा पनि देखियो ।’ भारतबाट ठूलो संख्यामा नेपाल आउने भीडलाई ध्यानमा राखेर आफूले अब नेपाल आउन नदिन भारत सरकारलाई कुटनीतिक माध्यमबाट आग्रह गरिएको सुनाए ।

‘भोलि केही गरी कोरोना भित्रिएर बजारमा खाद्यान्न अभाव भयो भने सरकारले केही गर्न सक्दैन होला भनेर आम नागरिक ढुक्क छैनन् । तर, त्यस्तो अवस्था आयो भने सरकारले घरघरमै खाद्यान्न पुर्याउने गरी गृहकार्य गरेको छ ।’ उनले थपे । ‘मन्त्रालयका कर्मचारी कोही पनि बिदा बस्न पाउँदैनन् । देशभरिकै आपूर्ति व्यवस्था सहज बनाउनको लागि स्वास्थ्य, गृह, उपभोक्ता संरक्षण हित, आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय लगायतसँगको समन्वयमा काम भइरहेको छ । कहाँ कति चाहिन्छ ? भन्ने कुरा पनि आंकलन गरेका छौं । यदि अभावको अवस्था आयो घरदैलोमा ढुवानी गर्ने व्यवस्था गरेका छौं । ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>