चितवन विशेष
रत्ननगरमा १२ घण्टामै बन्यो कोरोना अस्थायी अस्पताल

चितवन, चैत ८–
भरतपुरमा ७२ घण्टा लगाएर कोरोनाको अस्थायी अस्पतालबाट सेवा शुभारम्भ भएकै दिन शुक्रबार रत्ननगरमा पनि अस्थायी अस्पताल निर्माण गरिएको छ ।
पूर्वी चितवनलाई लक्षित गर्दै रत्ननगर–१४ स्थित गुञ्जयमान अस्पतालमा कोरोनाको अस्थायी अस्पताल निर्माण गरिएको रत्ननगरका मेयर नारायण वनले बताए । मेयर वनका अनुसार सो अस्पताल १२ घण्टामै तयार पारिएको हो । गुञ्जयमान अस्पतालमा २० शैया रहने गरी कोरोनाको अस्थायी अस्पताल निर्माण गरिएको मेयर वनले बताए ।
शंकास्पद बिरामी आएको खण्डमा उपचारका लागि तयारी अवस्थामा स्वास्थ्यकर्मी रहेको समेत मेयर वनको भनाई छ । अस्थायी अस्पतालको प्रदेश साँसदहरु कृष्ण प्रसाद खनाल, कंचन खनाल, रत्ननगरका मेयर नारायण वन, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, उपमेयर विमला दुवाडी, खैरहनीका उपमेयर सुनिता थपलिया, नेपाली काँग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरे लगायतको टोलीले निरीक्षण गरेको छ ।
कोरोना अस्पताललाई आवश्यक पर्ने डाक्टर तथा स्वास्थ्यकर्मीहरु रत्ननगर अस्पताल र गुन्जमान अस्पतालबाट व्यवस्था गरिने रत्ननगरका प्रबक्ता राजेन्द्र हमालले जानकारी दिए । अस्थायी कोरोना अस्पतालको निरीक्षणका क्रममा प्रजिअ भट्टराईले कोरोना अस्पतालको लागि आवश्यक पर्ने डाक्टर र स्वास्थ्यकर्मीको अभाव नहुने बताए ।
सो टोलीले रत्ननगर अस्पतालको समेत अबलोकन गरेको छ । रत्ननगरमा कोरोना रोगथाम र तयारी स्वरुप तीन वटा आइसोलेसन वार्ड, ज्वरो क्लनीक स्थापना गरिसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.विश्वबन्धु बगालले जानकारी दिए ।