चितवन विशेष
भाटभटेनीमा गौतममाथि भएको दुव्र्यवहारप्रति सिनर्जीको आपत्ति

चितवन, चैत ७–
पत्रकार शिव गौतममाथि भाटभटेनीका कर्मचारीले दुव्र्यवहार गरेको भन्दै सिनर्जी एफएमले खेद प्रकट गरेको छ ।
सिनर्जी एफएमका संवाददाता रहेका गौतममाथि भाटभटेनीका कर्मचारीहरुले शुक्रबार अपरान्ह समाचार संकलनका क्रममा अभद्र व्यवहार गरेको भन्दै एफएमले आपत्ति जनाएको हो ।
एफएमका प्रवन्ध निर्देशक सहनलाल प्रधान र स्टेशन म्यानेजर रामकान्त पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘सार्वजनिक चासोको विषयमा समाचार संकलनको लागि अनुमति लिनु पर्ने व्यवस्था छैन, तर तस्बिर खिचेको भन्दै हाम्रा संवाददाता माथि भएको यो घट्नाले समग्र स्वतन्त्र पत्रकारिता, विपत्का बेला नागरिकले पाउनु पर्ने सूचनाको अधिकार कुण्ठित हुनगरि विद्यमान संविधान माथिनै चुनौति दिने गरी भएको यस घटनाप्रति खेद प्रकट गर्दछौं ।’
एफ.एमले दोषीलाई कारबाही गरी समग्र प्रेस जगतलाई सुरक्षा प्रत्याभुति गराउन नेपाल पत्रकार महासंघ, पेशागत संघ संगठन, प्रशासन र सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।
कोरोना भाइस (कोभिड १९) का कारण चितवन प्रशासनले समेत भिडभाडमा नजान, २५ जना भन्दा बढी मानिस जम्मा नहुन आग्रह गरेको छ । तर भाटभटेनीमा मानिसहरुको भीड लाग्ने गरेको छ । हातबजार समेत बन्द गरिएको अवस्थामा भाटभटेनीले प्रशासनको आग्रहलाई अटेर गर्दै आइरहेको छ । सोही विषयका लागि समाचार संकलन पुगेका पत्रकार गौतमलाई तस्विर खिच्ने क्रममा म पत्रकार हुँ भन्दा पनि अभद्र व्यवहार गरिएको थियो । उनको क्यामरा नियन्त्रण लिएर भाटभटेनीका तीन कर्मचारीहरुले जर्बरजस्ती फोटो हटाएका थिए । पत्रकार गौतम कायाकैरन दैनिकमा समेत आवद्ध छन् ।