Breaking News

सरकारी निर्णय तोड्दै राष्ट्रियसभा बैठक !

Banner

काठमाडौँ, चैत ६–

सरकारले कोरोना भाइसरको संक्रमण फैलिने जोखिम कम गर्न २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने नियम लागु गरे पनि राष्ट्रिसभाको बैठक भने बस्ने भएको छ ।

कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यानमा राखी सङ्घीय संसद्ले पनि आजदेखि विशेष सावधानी अपनाउन शुरु गरेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको आजको बैठकमा सहभागी सांसदलाई चिकित्सकको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराएको हो ।

चिकित्सक टोलीले बैठकमा प्रवेश गर्नुपूर्व सांसदलाई तापक्रम मापन यन्त्र (टेम्प्रेचर गन) ले तापक्रम परीक्षण गरेर प्रवेश गराएको छ । सङ्घीय संसद्कै चिकित्सक टोलीले आजदेखि उक्त जाँच शुरु गरेको जनाइएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्मा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले १५ बुँदे निर्णय गरेर अत्यावश्यक कामका लागि बाहेक आवतजावत, हिँडडुल समेत नगर्न निर्देशन दिएको थियो ।

सो समितिले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार तथ क्लव आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको थियो ।

राष्ट्रियसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सो बैठक नियमित रुपमा चल्ने भएको हो । तर बैठकअघि सबै सांसद तथा कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिने र त्यसपछि मात्रै सभाहलमा प्रवेश दिइने निर्णय भएको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक शुक्रबारका लागि बोलाइएको छ । सो बैठक बस्ने–नबस्नेबारे निर्णय गर्न सरकार तथा राजनीतिक दलसँग सभामुख अग्नि सापकोटाले परामर्शको तयारी गरेका छन् ।

राष्ट्रिय सभामा सांसद मात्र ५८ जना छन् भने सो सभाका लागि कर्मचारी, सुरक्षा, सञ्चारकर्मी लगायतको ठूलो भीड जम्मा हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>