Breaking News
जन्मदिनमा सांसद विजय सुवेदीद्धारा रक्तदान र बृक्षारोपण

चितवन,चैत ५-
चितवनका प्रदेशसभा सांसद विजय सुवेदीले जन्मदिनमा रक्तदान र बृक्षारोपण गरेका छन् । आफ्नो ५७ औं जन्मदिनको उपलक्ष्यमा उनले आज (बुधवार) क्षेत्रिय रक्तसंचार केन्द्र भरतपुरमा पुगेर रक्तदान गरेका हुन् भने गणेशधाममा पिपलको विरुवा रोपेका हुन् । हरेक बर्ष आफ्नो जन्मदिनमा रचनात्मक काम गर्दै आएका सुवेदीले यसबर्ष पनि निरन्तरता दिएका छन् ।
कोरोना भाइरसको प्रभावका कारण रगतको अभाव भएका कारण आफूले रक्तदान गरेको उनले बताए । अभावको समयमा सबै नागरिकलाई रक्तदान गर्न आब्हान गरे । उनले भने,‘हरेकले जन्मदिनमा सके रक्तदान गरौं, नभएपनि एकटा विरुवा रोपौं ।’ रक्तदानबाट कसैले नयाँ जिवन पाउँने र विरुवाले धेरैको जीवन स्वच्छ बनाउने भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको उनले बताए ।
‘पिपलले अक्सिजनसंगै छाहारी र सितलता दिन्छ,यसबाहेक अरु विरुवा रोप्दा फलफूलका विरुवा रोपौं’,उनले भने । जन्मदिनमा अरुलाई उपहार दिँदा पनि फलफुलका विरुवा दिन सांसद सुवेदीले आग्रह गरे । आफ्नो जन्मदिनमा मात्रै सबैले विरुवा रोप्यौ भने सबैतिर हरियाली हुने उनको भनाई छ ।
यसअघि ५६ औं जन्मदिनमा उनले भरतपुर अस्पतालमा मरणोपरान्त अङ्गदान गरेका थिए । उनि भरतपुर अस्पतालमा अङ्गदान गर्ने पहिलो व्यक्ति हुन् । विसं २०२० चैत ५ गते स्याङ्जामा जन्मिएका सुवेदी हाल भरतपुर महानगरपालिका–१२ मा बसोबास गर्दै आएका छन् ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष बाबुराम अधिकारी, गणेशधाम संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष दिनेश कुमार चुके, वरिष्ठ उपाध्यक्ष राजन श्रेष्ठ, महासचिव रबिन्द्र बराल, सचिव सन्तोष पन्त लगाएतको सहभागिता रहेको थियो ।
























